झापालाई हराउदै संकटा बन्यो भरतपुर गोल्डकपको बिजेता

एटुजेड समाचार

चितवन, जेष्ठ ०४ – भरतपुर गोल्ड कपको उपाधी ए डिभिजन क्लब संकटाले हात पारेको छ । प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा झापा ११ बिरुद्द ३-० को सहज जित निकाल्दै संकटाले उपाधी जितेको हो ।संकटाको जितमा कप्तान अमित तामाङ र लक्ष्मण रुचालले समान १-१ गोल गरे भने १ एक गोल उपहार पाएको थियो ।

खेलको १५ औं मिनेटमा कप्तान अमित तामाङले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । उनले प्राप्त फ्रि किकलाई सुन्दर गोलमा परिणत गर्दै संकटालाई १-० को अग्रता दिलाएका थिए । पहिलो हाफको खेल १-० मा सकियो ।

दोस्रो हाफमा संकटाले थप १ गोल गर्‍यो । खेलको ८२ औं मिनेटमा झापाका सुमिन मैनालीले आत्माघाती गोल गरेपछी संकटाको अग्रता दोब्बर भयो ।खेलको अतिरीक्त समयमा लक्ष्मण रुचालले गोल गरेपछी संकटाले ३-० को सहज जित हात पार्‍यो ।उक्त खेलमा म्यान अफ दि म्याच संकटाका कप्तान अमित तामाङ घोषित भए ।

उपाधी बिजेता संकटाले नगद ६ लाख सहित गोल्डकप प्राप्त गरेको छ भने उपबिजेता बनेको झापाले ३ लाखमा चित्त बुझाउन वाध्य भएको छ ।प्रतियोगिताभरको उत्कृष्ट खेलाडी संकटाका कप्तान अमित तामाङ घोषित भए । उनले ४० हजार रुपैया प्राप्त गरे । प्रतियोगिताभरको उत्कृष्ट स्ट्राईकर झापाका निसान लिम्बु घोषित भए भने उत्कृष्ठ गोल रक्षक संकटाका राजा बाबु थापा घोषित भए ।

झापाका सन्जोग राई उत्कृष्ट मिडफिल्डर घोषित हुँदा चितवन ११ का सुन्धास चौधरी उत्कृष्ट डिफेण्डर घोषित भए । उनिहरुले जनही २० हजार रुपैया प्राप्त गरेका छन् । बिजेता र उपबिजेता टिमलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पुरस्कार प्रदान गरिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू