सुदूरपश्चिम रोयल्सले भित्र्यायो वेस्ट इन्डिजका ब्याटर रदरफोर्ड

एटुजेड समाचार

काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डलाई अनुबन्ध गरेको छ।

२८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। उनी मध्यक्रममा ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन सक्ने क्षमता राख्छन्।

रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टि ट्वान्टी आई खेल खेलेका छन्। एकदिवसीयमा उनले ८ सय ७३ रन बनाएका छन् । टि ट्वान्टी अन्तर्राष्ट्रियमा १ हजार  १ सय २३ रन जोडेका छन्। टि ट्वान्टी २० आई उनको उच्च स्कोर ८४ रन हो।

सबैखाले टि ट्वान्टी क्रिकेटमा रदरफोर्डले २ सय ८३ खेलमा ५ हजार ९० रन बनाएका छन्। जसमा ३ सय २४ छक्का प्रहार गरेका छन्।

फ्रेन्चाइज क्रिकेटमा रदरफोर्डले सीपीएल, इन्डियन प्रिमियर लिग (आईपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगलादेश प्रिमियर लिग, लंका प्रिमियर लिग, आईएलटी–२० र मेजर लिग क्रिकेट खेलेका छन्।

उनी सन् २०२२ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले सीपीएल उपाधि जित्दा टोलीमा थिए भने सन् २०२०–२१ मा कराँची किङ्सबाट पीएसएल उपाधि जितेका थिए।

आईपीएलमा रदरफोर्डले सन् २०२५ मा गुजरात टाइटन्सबाट १३ खेल खेल्दै २ सय ९१ रन बनाएका थिए। त्यसअघि उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट पनि खेलेका थिए।

मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्ससँग उपाधि जिते पनि ती सिजनमा उनले खेल्ने अवसर पाएका थिएनन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतामा थप बल पुग्ने बताए।

`शेरफन रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीलाई सुदूरपश्चिम रोयल्समा आबद्ध गर्न पाउँदा हामी उत्साहित छौं। उहाँको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवले टोलीलाई बलियो बनाउने विश्वास छ। एनपीएलमा उहाँको उपस्थितिले समर्थकलाई पनि उत्साहित बनाउनेछ। यस सिजन टोलीको लक्ष्यमा उहाँको योगदान महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,´खड्काले भने।

रदरफोर्डले पनि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न पाउँदा उत्साहित रहेको बताएका छन्। उनले नेपालमा खेल्न र टोलीका लागि योगदान दिन आफू उत्सुक रहेको बताए।

`सुदूरपश्चिम रोयल्ससँग जोडिन पाउँदा म निकै उत्साहित छु। एनपीएलमा खेल्ने र नेपाली समर्थकका अगाडि आफ्नो क्षमता देखाउने अवसरको प्रतीक्षामा छु। टोलीसँग मिलेर राम्रो प्रदर्शन गर्ने र समर्थकलाई रोमाञ्चक क्रिकेट दिने मेरो लक्ष्य छ,´ रदरफोर्डले भने।

८ टोलीको सहभागितामा एनपिएल कात्तिक ९ देखि मंसिर ५ गते ( अक्टोबर २६ देखि नोभेम्बर २१ ) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु