नारायणी पब्लिकद्वारा जखडीमाईलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग
चितवन, बैशाख २५ – विश्व रेडक्रस दिबसको अवसरमा जुनियर रेडक्रस सर्कल नारायणी इङ्गिलस पब्लिक माध्यमिक बिद्यालय भरतपुरले जखडी माई आधारभुत प्राविधिक बिद्यालय भरतपुर ११ मा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री बितरण गरेको छ । जुनियर रेडक्रस सर्कल नारायणी पब्लिकका शिक्षक नायक सन्तोष रिमालको नेतृत्वमा शिक्षक र बिद्यार्थी सहितको टोलीले उक्त बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
सो अवसरमा बोल्दै जखडीमाई आधारभुत बिद्यालयका प्रधानाध्यापक उपेन्द्र सेढाईंले निजी बिद्यालय नारायणी पब्लिकले यस बिद्यालयमा अध्ययनरत छात्र छात्रालाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरि बिद्यार्थीको अध्ययनमा थप सहयोग पुर्याएकोमा बिद्यालय एवं जुनियर रेडक्रस सर्कल नारायणी पब्लिकलाई धन्यवाद दिएका छन् ।
उक्त बिद्यालयमा करिव ७० जना बिद्यार्थी अध्ययनरत रहेका छन् । यस अघि पनि नारायणी पब्लिक र रेडक्रस सर्कलले बिभिन्न सामुदायिक बिद्यालयमा सहयोग गर्दै आएको प्राचार्य बेदराज न्यौपानेले वताए । कार्यक्रम जुनियर रेडक्रस सर्कल नारायणी पब्लिककी छात्रा सलिना कँडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया