सबैभन्दा लामो जलयात्राको परीक्षण आजबाट शूरु गरिदैं

बैशाख२५ , चितवन । जलयात्राको प्रवल संभावना भएको चितवनको नारायणी एवं त्रिशुलीमा नेपालकै लामो दुरीको जलयात्रा आजबाट (बुधबार) परीक्षण गरिदै छ । आयुष्मा मोटरबोट कम्पनी प्रालिले शुरु गर्न लागिएको जलयात्रा चितवनको फिस्लिङ्गदेखि सानोगढीसम्म करीब ७० किलोमिटर दुरीको रहनेछ । परीक्षण अघि भारतका प्राविधिकहरुले मोटरबोटको तथा यसबारेमा विस्तृत जानकारी एवं चेकजांँच कार्य गरिसकेको कम्पनीले जनाएको छ ।
रोजगारीका लागि अफगानिस्तानबाट फर्केका २१ जना युवाहरुको संयुक्त लगानीमा जलयात्रा सञ्चालन गर्न लागिएको हो । करीब १ करोडको लगानीमा प्रति मोटरबोट १० देखि १४ जना अट्ने मोटरबोट ल्याइसकिएको संचालकहरुले जानकारी दिए ।
कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले सबै प्रक्रिया पुरा भइसकेको बुधबार बाट परीक्षण गर्न लागिएको बताउनु भयो । उहांँका अनुसार परीक्षणको पहिलो दिन फिस्लिङ्गबाट चितवनको मनकामना केबल कार निर रहेको मोटरबोट स्टेशनसम्म परीक्षण गरिने छ । बिहीबार बाट नारायणी नदी हुदै सानोगढीसम्म परीक्षण गर्न लागिएको उहांँले बताउनु भयो । ‘हाललाई दुइवटा मोटरबोट परीक्षणका लागि ल्याएका छौ, प्राविधिक परीक्षण र पानीको अनुकुलता हेरेर थप मोटरबोट ल्याउने योजना छ’ उहांँले भन्नुभयो । अधिकारीका अनुसार अनुसार बैशाखमा विभिन्न प्राविधिक परीक्षण, पानीको बहाव, र जलयात्राको बारेमा परीक्षण गरी ज्येष्ठबाट पूर्णरुपमा जलयात्रा सञ्चालन गरिने छ ।
कम्पनीका अर्का सञ्चालक गणेश थापा पर्यटकहरु जलयात्रामा बढी रमाउने गरेको र आफूहरुले विदेशमा रहंँदा यसको संभावना र बढी आर्कषण भएको पाएकोले यहाँपनि जलयात्रा सञ्चालन गर्न लागिएको बताउनु भयो । ‘विदेशी पर्यटक जलयात्रामा बढी रमाउने गर्छन, साथै आन्तरिक पर्यटकको पनि यसतर्फ निकै आर्कषण हुनेछन’, उहांँले भन्नुभयो । कम्पनीले जलयात्राका साथै पर्यटकको लागि खाना तथा आरामको लागि कुरिनटारमा गोल्डेन रिसोर्ट समेत सञ्चालनमा ल्याएको छ । ’अबको व्यवसाय बहुआयामिक, एकीकृत तरीकाले गरेमात्र फड्को मार्न सकिन्छ भन्ने लाग्यो । त्यसैले सबैको सल्लाहमा रिर्साटपनि खोल्यौं’ थापाले भन्नुभयो ।
जलयात्रामा पर्यटकहरुले प्राकृतिक दृश्यका साथै मनकामना, देवघाट, चितवन राष्ट्रिय निकुञ्जबाट नदी किनारमा देखिने गैडा, बाघ, चराचुरुङगी, बँदेल लगायतका जनावर देख्न सक्ने थापाले बताउनु भयो ।
कम्पनीले यात्रुहरुको सहजताको लागि ४ ठाउंँमा मोटरबोट स्टेशन राख्ने भएको छ । जहांँ पर्यटक चढाउने र ओराल्ने काम गरिनेछ । ‘शुरुवाती चरणमा मनकामना, कालिखोला, नारायणगढ र सानोगढीमा छिटै स्टेशन बनाउने काम सुरु गरिनेछ’ सञ्चालक थापाले भन्नुभयो । कम्पनीले दिएको जानकारी अनुसार मोटरबोट प्रतिघण्टा ६० किमीको गतिसम्म चल्ने र शुरुको स्टेशनबाट अन्तिम स्टेशन सम्म १ देखि ३ घण्टा समयमा पुग्न सकिने छ । पर्यटकको सुरक्षाको लागि लाइफ ज्याकेट तथा उद्धारकर्मी टोलि समेत राखिएको र प्रत्येक यात्रुको वीमा गरिने अध्यक्ष अधिकारीले बताउनु भयो ।
अर्कोबर्षबाट कम्पनीले ८० सीट क्षमताको मिनि पानी जहाज ल्याउने तयारी गरेको र मुग्लिनदेखि त्रिवेणीसम्म जलयात्रा सञ्चालन गरिने योजना रहेको अर्का सञ्चालक तिलक बहादुर कुंँवर बताउंँनु हुन्छ ।
‘यो देशकै लामो दुरीको जलयात्रा र साहसिक खेल पनि हो, पर्यटकले मनोरञ्जन लिनुका साथै यातायातको साधनको रुपमा प्रयोग गर्न सक्नेछन’ उनले भने । कम्पनीको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका वडानम्बर २१ रहने जनाइएको छ ।
तपाइँको प्रतिक्रिया