‘एसपी मल्लको पहिलो प्रहार : गुन्डासँग सम्बन्ध अन्त्य गर ‘

सुनसरी — जिल्ला प्रहरी कार्यालय सुनसरीको कमान्ड सम्हालेलगत्तै प्रहरी उपरीक्षक (एसपी) पुष्प मल्लले प्रहरी संगठनभित्र अनुशासन, व्यावसायिकता र जनविश्वासलाई केन्द्रमा राखेर कडा सन्देश दिएका छन्। उनले अपराधी, बिचौलिया र समाजमा आतंक फैलाउँदै ‘मै हुँ’ भन्ने दम्भ देखाउने व्यक्तिसँग कुनै पनि प्रहरी कर्मचारीको सम्बन्ध स्वीकार्य नहुने स्पष्ट घोषणा गरेका छन्।

मातहतका प्रहरी कार्यालयहरूको अनुगमनका क्रममा एसपी मल्लले प्रहरी अधिकारी तथा जवानलाई स्पष्ट निर्देशन दिँदै समाजमा ‘गुन्डा’, ‘बिचौलिया’ वा ‘मै हुँ’ भन्दै सर्वसाधारणलाई धम्क्याउने, त्रसित बनाउने तथा आफ्नो प्रभाव देखाउने व्यक्तिहरूसँग कुनै पनि हालतमा उठबस, सङ्गत, लेनदेन वा कुनै प्रकारको साँठगाँठ नगर्न चेतावनी दिएका हुन्। उनले प्रहरीको वर्दी कानुनको प्रतीक भएकाले त्यसलाई कुनै व्यक्ति विशेषको प्रभाव वा स्वार्थका लागि प्रयोग गर्न नपाइने स्पष्ट पारे।

उनले चेतावनी दिँदै भनेका छन् कि यदि कुनै प्रहरी कर्मचारी यस्ता विवादास्पद व्यक्तिसँग निकट रहेको, संरक्षण दिएको वा अनुचित सम्बन्ध कायम गरेको जानकारी प्राप्त भए अथवा प्रमाण भेटिए कुनै पनि बहाना स्वीकार गरिने छैन। सम्बन्धित कर्मचारीमाथि तत्काल विभागीय कारबाही अघि बढाइनेछ।

एसपी मल्लको निर्देशन केवल औपचारिक आदेश नभई प्रहरी संगठनको छविमाथि वर्षौंदेखि लाग्दै आएका प्रश्नहरूको जवाफ दिने प्रयासका रूपमा समेत हेरिएको छ। पछिल्ला वर्षहरूमा विभिन्न जिल्लामा केही प्रहरी कर्मचारीको नाम गुन्डा, बिचौलिया र आपराधिक समूहसँग जोडिएपछि प्रहरी संगठनको निष्पक्षतामाथि प्रश्न उठ्ने गरेका थिए। त्यही अवस्थालाई दोहोरिन नदिन उनले सुरुदेखि नै स्पष्ट ‘रेड लाइन’ कोरेका छन्।

उनले प्रहरीको पहिलो दायित्व नागरिकलाई सुरक्षा दिनु, कानुनको निष्पक्ष कार्यान्वयन गर्नु र अपराध नियन्त्रण गर्नु भएको उल्लेख गर्दै कानुन कार्यान्वयन गर्ने निकाय स्वयं विवादास्पद व्यक्तिको प्रभावमा परे जनताले प्रहरीमाथिको विश्वास गुमाउने बताए। “प्रहरीको शक्ति कुनै गुन्डा वा बिचौलियासँगको सम्बन्धबाट होइन, कानुन र जनविश्वासबाट आउँछ,” भन्ने सन्देश उनको निर्देशनले दिएको देखिन्छ।

सुनसरीमा नयाँ नेतृत्वसँगै आएको यो कडा निर्देशनले प्रहरी संगठनभित्र अनुशासन कस्ने, बिचौलियाको प्रभाव अन्त्य गर्ने र कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश प्रवाह गरेको विश्लेषण भइरहेको छ। अपराधी, पहुँचवालाको आडमा हिँड्ने समूह वा आफूलाई अछुतो ठान्ने प्रवृत्तिप्रति कुनै नरम नीति नअपनाइने संकेत एसपी मल्लले सुरुमै दिएका छन्।

प्रहरी वृत्तमा एसपी मल्लको यो कदमलाई संगठनभित्र “जिरो टोलरेन्स” नीतिको सुरुआतका रूपमा हेरिएको छ। अब सुनसरीमा प्रहरी र गुन्डा–बिचौलियाबीचको कुनै पनि प्रकारको निकटता सह्य नहुने स्पष्ट सन्देश प्रवाह भएको छ। यसले प्रहरी संगठनभित्र अनुशासन कायम गर्न र आम नागरिकमा प्रहरीप्रतिको विश्वास थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु