धार्मिक परम्परा अनुसरण गर्दा बालकको मृत्यु

गौशाला, चैत २६ – महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्पराअनुसार काम गर्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुई महिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काटिने काम) गरिएकाे थियाे ।
यस क्रममा उनकाे अत्यधिक रक्तस्राव भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा रक्तस्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले टोली पठाएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । (रासस)
तपाइँको प्रतिक्रिया