काठमाडौं। गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते गोरखामा गुरुङ समुदायको मौलिक परम्पराअनुसार विवाह गर्ने घोषणा गरेका छन्। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले आफ्नो विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने जानकारी दिएका हुन्।
सम्बोधनका क्रममा मन्त्री गुरुङले पहिलोपटक आफ्नै समुदायका माझ विवाहको मिति सार्वजनिक गर्न पाउँदा निकै खुसी र गर्व महसुस भएको बताए। पुर्खाको इतिहास, समुदायको पहिचान र मौलिक कला, संस्कृति तथा भेषभूषाको संरक्षण गर्ने उद्देश्यले विवाहका लागि गोरखा रोजेको उनको भनाइ छ। पार्टी प्यालेसमा भव्य कार्यक्रम गर्ने सामर्थ्य भए पनि आफू र हुनेवाला श्रीमती दुवैको चाहनाबमोजिम सीमित व्यक्तिहरूको उपस्थितिमा परम्परागत शैलीमै विवाह गर्न लागिएको उनले स्पष्ट पारे।
विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने सामाजिक प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै गृहमन्त्री गुरुङले ऋण काढेर भए पनि भव्य भोजभतेर र तामझाम गर्नुपर्ने सोच गलत रहेको बताए। विवाह एकअर्काका लागि हुने भएकाले अनावश्यक खर्च गर्न नहुने तर्क गर्दै उनले दुःख–सुखमा साथ दिने श्रीमान्–श्रीमती र परिवार नै मुख्य हुने धारणा राखे।
आफ्नो विवाहले गोरखाको ग्रामीण पर्यटन र स्थानीय होमस्टे प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा उनले व्यक्त गरेका छन्। स्थानीय कला–संस्कृति र हिमाली पर्यटनको प्रचारप्रसारमार्फत भविष्यमा उक्त क्षेत्रलाई आकर्षक पर्यटन तथा विवाह गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास उनको छ। उक्त विवाह समारोहमा सरकारका प्रतिनिधिहरूका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत सहभागी हुने अपेक्षा गरिएको छ।
सोही अवसरमा गृहमन्त्री गुरुङले आफ्नो राजनीतिक तथा सामाजिक यात्रामा देश–विदेशमा रहेका गुरुङ समुदायले पुर्याएको साथ र सहयोगप्रति आभार प्रकट गरे। काठमाडौँको घोपा आन्दोलनका क्रममा पूर्वी नेपालका नागरिकले दिएको साथ आफूले कहिल्यै नबिर्सने बताउँदै उनले सात महिना लामो आन्दोलनमा अनेकौँ आरोप र आलोचनाका बाबजुद समुदायले निरन्तर साथ दिएको स्मरण गरे।
पार्टीको झन्डाभन्दा देश माथि हुन्छ भन्ने पाठ आफ्नो समुदायले सिकाएको उल्लेख गर्दै उनले देशप्रेम र राष्ट्रिय हितलाई सधैँ प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। मुलुकमा सुशासन र समृद्धि कायम गर्न सरकार आवश्यक परे जुनसुकै कदम चाल्न तयार रहेको स्पष्ट पार्दै उनले नागरिकको सुरक्षा र देशको हितका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए।


