काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले पार्टीलाई एकताबद्ध र बलियो बनाउँदै अघि बढाउन आफूले महामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताए।
उनले पार्टीको सङ्गठन सुदृढ बनाउन सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । सबैलाई समेट्न नसके पार्टी बलियो हुन नसक्ने उल्लेख गर्दै उनले सबैलाई मिलाएर लैजान सक्ने हैसियतको पार्टी निर्माण गर्नुपर्ने बताए।
पार्टीमा अद्यावधिकको नाममा कब्जा गर्ने र आफ्नो नियन्त्रणमा राख्ने शैली देखिएको टिप्पणी गर्दै उनले त्यसले पार्टीलाई बलियो बनाउन नसक्ने धारणा राखे।
लामो समयदेखि पार्टीमा काम गरेको अनुभवका आधारमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेको उनले बताए।


