सुदूरपश्चिमले जनकपुरलाई दियो १२० रनको सामान्य लक्ष्य

एटुजेड समाचार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा जनकपुर बोल्ट्ससामू सुदूरपश्चिम रोएल्सले १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको हो। जनकपुरका बलरहरूले कसिलो बलिङ गर्दै सुरुवातमै दबाब सिर्जना गरेपछि सुदूरपश्चिम ठूलो योगफल तयार पार्नबाट चुक्यो।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन (२३ बल, २ चौका, २ छक्का) बनाए भने थरिन्दु रत्नायकेले २८ रन (२८ बल, १ चौका, २ छक्का) मा अविजित इनिङ खेले।

त्यस्तै, आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १०–१० रन बनाए। पहिलो विकेटका लागि जैब र भण्डारीबीच भएको २२ रनको साझेदारी नै इनिङ्सको सर्वोच्च साझेदारी रह्यो। त्यसपश्चात नियमित अन्तरालमा विकेट गुमाएको सुदूरपश्चिम ठूलो स्कोर बनाउन असफल भयो।

जनकपुरका कप्तान हर्मीत सिंहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यसै खेलमार्फत एनपीएलमा डेब्यु गरेका आयरल्याण्डका अलराउन्डर हेरी टेक्टरले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिंदै १ विकेट हात पारे। त्यस्तै, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले पनि १–१ विकेट आफ्नो नाम गरे।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु