भरतपुरमा निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरू एकजुट

एटुजेड समाचार

भरतपुर – चितवनको भरतपुर महानगरपालिकाभित्रका निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता गराउन महानगरमा क्रियाशील राजनीतिक दलहरू एकजुट भएका छन्। निजी विद्यालयले गरेको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दबाब दिने निर्णयसहित सर्वदलीय बैठक सम्पन्न भएको हो।

नेपाली कांग्रेस भरतपुर महानगर समितिको आयोजनामा भएको बैठकले निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आवश्यक दबाब सिर्जना गर्ने सर्वसम्मत निर्णय गरेको छ।

नेपाली कांग्रेस भरतपुर महानगर कार्यसमितिका सभापति बुद्धिकान्त न्यौपानेको संयोजकत्वमा सम्पन्न बैठकमा महानगरभित्र क्रियाशील विभिन्न राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा नेपाली कांग्रेससहित राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगर सभापति सीता ज्ञवाली, नेकपा एमाले भरतपुर महानगर अध्यक्ष शंकर थपलिया, नेपाली कम्युनिष्ट पार्टी भरतपुरका संयोजक ईश्वर सापकोटा ‘सुमन’, राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुरका वरिष्ठ उपाध्यक्ष शिवशंकर उप्रेती र श्रम संस्कृति पार्टी भरतपुर महानगर अध्यक्ष प्रकाश कँडेलको उपस्थिति रहेको थियो।

बैठकले निजी विद्यालयहरूको शुल्क वृद्धिका कारण अभिभावक तथा विद्यार्थीमाथि थप आर्थिक भार परेको विषयलाई गम्भीरतापूर्वक लिँदै शुल्क वृद्धि फिर्ता गराउन पहल गर्ने निष्कर्ष निकालेको सभापति न्यौपानेले जानकारी दिए।

निजी विद्यालयको शुल्क वृद्धिप्रति अभिभावक तथा सरोकारवालाहरूले व्यक्त गरेको चासोलाई सम्बोधन गर्न राजनीतिक दलहरू साझा धारणा बनाएर अघि बढ्ने बैठकको निष्कर्ष रहेको छ।

शुल्क वृद्धिको निर्णय फिर्ता गराउन सम्बन्धित निकायमाथि दबाब सिर्जना गर्ने निर्णयसँगै निजी विद्यालयको शुल्क विवादमा भरतपुरका राजनीतिक दलहरूले सामूहिक रूपमा चासो देखाएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु