चक्रवात ‘अर्नव’ कमजोर बन्दै न्यून चापीय क्षेत्रमा परिणत, आन्ध्र प्रदेशमा ५ जनाको मृत्यु

एटुजेड समाचार

काठमाडौं । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले राज्यमा चक्रवात ‘अर्नव’ का कारण पाँच जनाको मृत्यु भएको जानकारी दिएका छन्। बङ्गालको खाडीमा उठेको भीषण चक्रवात ‘अर्नव’ मङ्गलबार मध्यरातिपछि बुधबार सबेरै तटीय क्षेत्रमा ठोक्किएको थियो।

चक्रवात अर्नवको प्रभावका कारण आन्ध्र प्रदेश, ओडिसार तेलंगानाका विभिन्न भागहरूमा भारी वर्षा भइरहेको छ। चक्रवातबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गर्ने कार्य भइरहेको छ।

भारतीय मौसम विज्ञान विभागले चक्रवात ‘अर्नव’ अब कमजोर भइसकेको जनाएको छ। पछिल्लो छ घण्टामा यो करिब १५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ अगाडि बढेको र ‘न्यून चापीय क्षेत्र’ मा परिणत भएको छ।

मौसम विभागका अनुसार अक्टोबर २८ को राति ११:३० बजे यसको केन्द्र आन्ध्र प्रदेश नजिकै, दक्षिण ओडिसा, दक्षिण छत्तीसगढ र उत्तर-पूर्वी तेलङ्गानासँग जोडिएको क्षेत्रमा रहेको थियो।

आन्ध्र प्रदेशमा यस चक्रवातका कारण सबैभन्दा बढी क्षति पुगेको छ। राज्यमा भइरहेको भीषण वर्षाका कारण धेरै जिल्लाका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ। मुख्यतया राज्यको उत्तरी भागका जिल्लाहरूका साथै काकिनाडा, कोनासीमा र पूर्वी गोदावरी जिल्लाहरूमा सबैभन्दा बढी वर्षा भइरहेको छ।

आन्ध्र प्रदेश आपत्कालीन व्यवस्थापन प्राधिकरणका प्रमुख निर्देशक प्रखर जैनले सर्वसाधारणलाई घरबाहिर ननिस्कन र सुरक्षित रहन आग्रह गरेका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु