शुक्रबारदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

एटुजेड समाचार

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको समेत संयुक्त असर पर्ने देखिएसँगै आगामी शुक्रबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना बढेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार र बुधबार देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने भए पनि बिहीबारदेखि भने मौसममा क्रमिक बदलाव आउनेछ।

हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली देखिए पनि अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। विभागका अनुसार बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। सोही दिन कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।

बिहीबारबाट मौसममा थप फेरबदल आउने र शुक्रबार तथा शनिबार वर्षा र हिमपातको प्रभाव महशुस रिनेछ। शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा वा हिमपातको समेत सम्भावना रहेको विभागले स्पष्ट पारेको छ।

शनिबार पनि कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली कायम रहनेछ भने हिमाली क्षेत्रका अधिकांश स्थानमा बादल लाग्नुका साथै वर्षा र हिमपातको क्रम जारी रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा यस दिन पनि भारी वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैबीच, मौसम विभागले बिहीबारदेखि शनिबारसम्म हुन सक्ने मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, दैनिक जनजीवनमा असर पर्ने तथा हिमाली क्षेत्रको पदयात्रा एवं पर्यटकीय गतिविधि जोखिमपूर्ण बन्न सक्ने चेतावनी दिएको छ। सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन विभागले सबैमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु