सीमा नाकामा कडाइ गर्न हयाचरी उद्योग संघको दौडधुप, अवैध चल्ला–कुखुरा आयात रोक्न सुरक्षा निकायसँग सहकार्य

एटुजेड समाचार

नेपालगन्ज – भारतीय सीमा नाकाबाट अवैध रूपमा नेपाल भित्रिने चल्ला, कुखुरा, मासु तथा अण्डा नियन्त्रण गर्न नेपाल हयाचरी उद्योग संघले सीमा क्षेत्रका जिल्लामा अनुगमन तथा सुरक्षा निकायसँगको भेटघाटलाई तीव्रता दिएको छ ।

 

नवलपरासी र रुपन्देहीबाट सुरु गरिएको अभियानअन्तर्गत संघको टोलीले बुधबार २०८३ असोज २१ गते बाँकेको नेपालगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी तथा बीओपी खडैचाका प्रमुखसँग भेटघाट गरेको हो ।

संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको नेतृत्वमा उपाध्यक्ष ज्ञानबहादुर बिसुराल, कोषाध्यक्ष परशुराम अधिकारी, सचिव विवेक भट्ट र सदस्य हरिकृष्ण खनाल सम्मिलित प्रतिनिधिमण्डलले सुरक्षा अधिकारीहरूसँग अवैध पोल्ट्रीजन्य वस्तुको आयात नियन्त्रणका विषयमा छलफल गरेको थियो ।

भेटका क्रममा सशस्त्र प्रहरीका अधिकारीहरूले सीमा नाकाबाट हुने अवैध आयात नियन्त्रणका लागि आवश्यक निगरानी तथा कारबाहीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको संघले जनाएको छ ।

संघका उपाध्यक्ष ज्ञानबहादुर बिसुरालका अनुसार बाँकेमा भएको भेटघाटपछि टोलीले बुधबार नै दाङका पोल्ट्री व्यवसायीसँग बैठक गर्ने तथा कपिलवस्तुमा प्रहरी नायव उपरीक्षकसँग भेटघाट गर्ने कार्यक्रम तय गरेको छ ।

नेपालको पोल्ट्री व्यवसायका लागि भारतीय सीमा नाकाबाट हुने अवैध आयात प्रमुख चुनौतीका रूपमा रहेको संघको भनाइ छ । अवैध रूपमा चल्ला, कुखुरा, मासु तथा अण्डा भित्रिँदा नेपाली पोल्ट्री व्यवसाय प्रभावित हुनुका साथै पशुपन्छीजन्य रोग फैलिने जोखिम बढ्ने र राज्यको राजस्वसमेत चुहावट हुने संघले जनाएको छ ।

सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय प्रशासन तथा पोल्ट्री व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको संघले जोड दिएको छ । संघले आगामी दिनमा समेत भारतीय सीमासँग जोडिएका जिल्लामा अनुगमन र सुरक्षा निकायसँगको समन्वयलाई निरन्तरता दिने जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु