काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुर क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा खुला) पदमा अत्यधिक मतसहित विजयी भएका डा. आयुष बगालेले आगामी महाधिवेशनमा केन्द्रीय सदस्य (खुला युवा) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
संयुक्त राज्य अमेरिका र क्यानडामा हासिल गरेको अन्तर्राष्ट्रिय क्लिनिकल अनुभव तथा आधुनिक ज्ञानलाई नेपाली कांग्रेसको नीति, नेतृत्व र संगठन निर्माणसँग जोड्ने उद्देश्यसहित बगालेले उम्मेदवारी घोषणा गरेका हुन् ।
‘एकरूपताको सक्षमता, परिवर्तनको संवाहक, संस्थागत सुधारका सारथि, सबल कांग्रेस अबको विकल्प’ भन्ने नारासहित उनले पार्टीभित्र नयाँ पुस्ताको प्राविधिक तथा पेशागत दक्षता, जिम्मेवार राजनीतिक संस्कार र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेका छन् ।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेसलाई थप सक्षम, आधुनिक, जिम्मेवार र संस्थागत रूपमा बलियो बनाउने लक्ष्य आफ्नो रहेको बगालेले बताएका छन् ।उनले आगामी महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई समर्थन र मत प्रदान गर्न अपिलसमेत गरेका छन् ।


