नारायणी कटान र डुबान नियन्त्रणका लागि संयुक्त ‘पहल समिति’ गठन

एटुजेड समाचार

चितवन – नारायणी नदीको तटीय क्षेत्रमा वर्षायाममा हुने कटान तथा डुबान नियन्त्रणका लागि भरतपुर–१६ का सामुदायिक वन, मन्दिर समिति, टोल विकास संस्था तथा सरोकारवालाहरूको संयुक्त पहलमा ‘पहल समिति’ गठन गरिएको छ।

ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले नारायणी तटीय क्षेत्रको दीर्घकालीन संरक्षण तथा उच्चस्तरीय तटबन्धन निर्माणका लागि संयुक्त रूपमा अघि बढ्ने निर्णय गर्दै समिति गठन गरेको हो।

नारायणी नदीले वर्षायाममा तटीय क्षेत्रमा निरन्तर भू–भाग कटान गर्नुका साथै बस्तीमा डुबानको जोखिम बढाउँदै आएको छ। नदी कटान र डुबानका कारण सामुदायिक वन क्षेत्रसँगै आसपासका मानव बस्तीसमेत प्रभावित हुँदै आएका छन्। समस्या दीर्घकालीन रूपमा समाधान गर्न तत्काल उच्चस्तरीय तटबन्धन निर्माणको काम अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ।

भरतपुर–१६ भित्र रहेका सामुदायिक वन समूह, मन्दिर समिति, टोल विकास संस्था, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूलाई समेटेर गठन गरिएको समितिले सम्बन्धित निकायसँग समन्वय गरी तटबन्धन निर्माणका लागि आवश्यक पहल गर्ने जनाइएको छ।

नवगठित समितिको संयोजकमा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विजय परियार र सचिवमा सिद्धि गणेश सामुदायिक वनका धिरेन्द्र घिमिरे चयन भएका छन्।

समितिका सदस्यहरूमा ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद पौडेल, सिद्धि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुहरि अधिकारी (केशव), सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष नन्दप्रसाद भट्ट, ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहकी सचिव रश्मी कोइराला, उपाध्यक्ष गोपाल गुरुङ, सिद्धि गणेश सामुदायिक वनका द्रोण गुरुङ, सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहकी सचिव शारदा पोखरेल, कोषाध्यक्ष विशाल सुवेदी, अनुगमन संयोजक सुरेस मगर, सिद्धि गणेश मन्दिर समितिका उपाध्यक्ष गोविन्द अधिकारी र सेतीदेवी टोल विकास संस्थाका अध्यक्ष तुलबहादुर गुरुङ रहेका छन्।

समितिले नारायणी तटीय क्षेत्रमा भइरहेको कटानको अवस्था, डुबानको जोखिम तथा आवश्यक तटबन्धनका विषयमा सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउँदै दीर्घकालीन समाधानका लागि समन्वयात्मक रूपमा काम गर्ने जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु