चितवन – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ धारापानीमा भासिएको सडकमा चामल बोकेको ट्रक फसेपछि सवारी आवागमन थप प्रभावित बनेको छ ।
इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ३१६१ नम्बरको ट्रक गएराति करिब २ बजे सडकमा राखिएको डिभाइडरमा ठोक्किएर भासिएको सडकको अगाडिको देब्रे साइडको भागमा फस्न पुगेको हो ।
चालकले ब्रेक फेल भएर डिभाइडरमा ठोक्किएपछि ट्रक भासिएको सडकमा फस्न पुगेको बताएका छन् । क्रेनको सहायताले ट्रक निकाल्ने तयारी भइरहेको छ ।
हाल ट्रकमा रहेको चामल अर्को ट्रकमा लोड गर्ने काम भइरहेको छ । उक्त स्थानमा केही दिनदेखि एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ । ट्रक फसेपछि सडक थप असहज बनेको छ । सुरक्षाकर्मीको समन्वयमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।


