केरा खानका लागि बिहानै उठ्नुपर्छ? खाली पेटमा खाँदा शरीरलाई असर गर्छ? अनि राति केरा खाँदा साँच्चै हानी हुन्छ?सामाजिक सञ्जालमा यसबारे अनेकौँ दाबी सुनिन्छन्। तर वैज्ञानिक दृष्टिकोणबाट हेर्दा केरा खाने कुनै निश्चित ‘सही समय’ हुँदैन।
तपाईंले आफ्नो खानपान, दिनचर्या र शरीरको आवश्यकताअनुसार केरा खान सक्नुहुन्छ।केरामा कार्बोहाइड्रेट, फाइबर, पोटासियम र भिटामिन बी–६ जस्ता पोषक तत्त्व पाइन्छन्। यसमा पाइने कार्बोहाइड्रेटले शरीरलाई छिटो ऊर्जा दिन्छ। त्यसैले व्यायामअघि वा पछि पनि धेरैले केरा खाने गर्छन्।
अब कुरा गरौँ खाली पेटमा केरा खाने विषयमा।यदि बिहान खाली पेटमा केरा खाँदा तपाईंलाई कुनै असहजता हुँदैन भने यसलाई बिहानको खाजामा समावेश गर्न सकिन्छ। तर केही मानिसलाई खाली पेटमा फलफूल खाँदा पेट फुल्ने वा भारी हुने समस्या हुन सक्छ।यस्तो भए केरा एक्लै खानुको सट्टा ओट्स, ब्रेड वा दहीसँग खान सकिन्छ।
केरा र दूध पनि सामान्य संयोजन हो। केराले कार्बोहाइड्रेट दिन्छ भने दूधबाट प्रोटिनलगायत अन्य पोषक तत्त्व पाइन्छ।तर दूध नपच्ने अर्थात् ल्याक्टोज पचाउन समस्या हुने मानिसमा दूधका कारण ग्यास वा पेट फुल्ने समस्या हुन सक्छ। त्यसैले यस्तो समस्या भए कारण केरालाई मात्र मान्नु उचित हुँदैन।
“राति केरा खान मिल्छ?”
राति केरा खानु आफैँमा हानिकारक मानिँदैन। यदि केरा खाएपछि तपाईंलाई पेट भारी हुने वा अन्य असहजता हुँदैन भने राति पनि खान सकिन्छ।
तर राति केरा खाँदा तपाईंलाई पाचनसम्बन्धी समस्या हुन्छ भने दिनको अन्य समयमा खानु राम्रो हुन्छ।तर मधुमेह भएका व्यक्तिले भने केराको मात्रा र आफ्नो समग्र कार्बोहाइड्रेट सेवनमा ध्यान दिनुपर्छ। केरामा प्राकृतिक चिनी र कार्बोहाइड्रेट हुने भएकाले यसले रगतमा चिनीको मात्रा प्रभावित गर्न सक्छ।
त्यस्तै, मिर्गौलाको समस्या भएका व्यक्तिले पनि केरामा पाइने पोटासियमको मात्रा ध्यान दिनुपर्छ। यस्तो अवस्थामा कति केरा खाने भन्ने कुरा स्वास्थ्य अवस्थाअनुसार फरक हुन सक्छ। त्यसैले चिकित्सक वा डाइटिसियनको सल्लाह लिनु उचित हुन्छ।
समग्रमा, केरा पौष्टिक र सजिलै पाइने फल हो। खाली पेट वा राति खानै नहुने भन्ने वैज्ञानिक नियम छैन।तर स्वस्थ खानपानका लागि केरालाई मात्र सम्पूर्ण आहारको विकल्प बनाउनु हुँदैन। विभिन्न फलफूल, तरकारी, दाल, गेडागुडी तथा प्रोटिनयुक्त खानेकुरालाई पनि आफ्नो भोजनमा समावेश गर्नु आवश्यक हुन्छ। केरा खान समयभन्दा महत्त्वपूर्ण कुरा हो—तपाईंको शरीरको आवश्यकता र सन्तुलित खानपान।


