चितवन – ४७ औँ पर्यटन दिवसको अवसरमा चितवनको माडी नगरपालिका–८ स्थित ‘अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे’ लाई नयाँ गाउँ पर्यटन गन्तव्य घोषणा गरिएको छ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च–नेपाल (VITOF Nepal) ले हरेक वर्ष नयाँ गाउँलाई पर्यटन गन्तव्य घोषणा गर्ने क्रममा यस वर्ष माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई गन्तव्यका रूपमा घोषणा गरेको हो।
मञ्चले २७ सेप्टेम्बर २०२६ मा प्रमाणपत्र प्रदान गर्दै अयोध्यापुरीलाई गाउँ पर्यटन गन्तव्यका रूपमा घोषणा गरेको जनाएको छ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च–नेपालका अध्यक्ष हरीशरण थपलिया र महासचिव अजित भट्टले प्रमाणपत्र प्रदान गरेका छन्। कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) प्रमुख अतिथिका रूपमा सहभागी थिए।
स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य, सामुदायिक सहभागिता तथा स्थानीय जीवनशैलीलाई पर्यटनसँग जोड्दै गाउँमा पर्यटक आकर्षित गर्ने उद्देश्यले अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेलाई नयाँ गन्तव्य घोषणा गरिएको हो।


