भरतपुर महानगरपालिकाका विद्यालयमा ‘Pedal Power Lesson’ सुरु

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिकाका विद्यालयमा विद्यार्थीलाई साइकल, स्वास्थ्य, वातावरण र सडक सुरक्षाबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले ‘Pedal Power Lesson’ सुरु गरिएको छ।

साइकल सिटी नेटवर्क नेपाल (CCNN) ले ‘Pedal Paathshala: Community Learning on Wheels’ कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका ९ वटा वडाका १० विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिरहेको हो।

कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरिएको छ। विद्यार्थीलाई साइकलको प्रयोगबाट हुने स्वास्थ्य लाभ, वातावरण संरक्षणमा साइकलको भूमिका तथा सुरक्षित साइकलिङका आधारभूत विषयमा जानकारी दिइने आयोजकले जनाएको छ।

त्यसैगरी, साइकल चलाउनुअघि र चलाइसकेपछि गर्नुपर्ने अभ्यास, समूहमा साइकल चलाउने तरिका, सडक सुरक्षा, साइकलको सामान्य मर्मत तथा हेरचाह र प्राथमिक उपचारसम्बन्धी आधारभूत ज्ञानसमेत कार्यक्रममा समेटिएको छ।

कार्यक्रम सुरु गर्नुअघि शिक्षक तथा महिला प्रशिक्षकका लागि Training of Trainers (ToT) सञ्चालन गरिएको थियो। तालिम प्राप्त प्रशिक्षकहरूले अहिले सम्बन्धित विद्यालयमा विद्यार्थीलाई ‘Pedal Power Lesson’ प्रदान गरिरहेका छन्।

कार्यक्रमअन्तर्गत सहभागी विद्यालयमा Bicycle Club तथा Bicycle Library को समेत प्रवर्द्धन गरिएको छ। यसबाट विद्यार्थीलाई नियमित रूपमा साइकल प्रयोग गर्न, साइकलको हेरचाह गर्न तथा सुरक्षित र जिम्मेवार रूपमा साइकल चलाउने अभ्यास गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ।

साइकल सिटी नेटवर्क नेपालका अनुसार, ‘Pedal Paathshala’ को उद्देश्य साइकललाई केवल यातायातको साधनका रूपमा नभई स्वास्थ्य, शिक्षा, वातावरणीय सचेतना र सुरक्षित गतिशीलतासँग जोडिएको सिकाइको माध्यमका रूपमा विकास गर्नु हो।

विद्यालय तहबाटै साइकलसम्बन्धी ज्ञान र व्यवहारिक सीप प्रदान गर्दै विद्यार्थीमा स्वस्थ, सुरक्षित तथा वातावरणमैत्री जीवनशैली र यातायात संस्कृतिको विकास गर्न कार्यक्रमले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

‘Pedal Paathshala: Community Learning on Wheels’ ले विद्यार्थी, शिक्षक तथा महिलालाई साइकलिङ, स्वास्थ्य, सडक सुरक्षा, वातावरणीय सचेतना र साइकल व्यवस्थापनसम्बन्धी ज्ञान तथा सीप प्रदान गर्दै विद्यालय तथा समुदायमा साइकलमैत्री वातावरण निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

साइकल सिटी नेटवर्क नेपाल (CCNN) साइकल प्रवर्द्धन, दिगो यातायात, सडक सुरक्षा, स्वस्थ जीवनशैली तथा साइकलमैत्री समुदाय निर्माणका क्षेत्रमा काम गर्दै आएको संस्था हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु