काठमाडौंः रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो। बाढीमा घाइते भएका २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।
हालसम्म बेपत्ता भएका ४ हजार ६ सय ५५ जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४२ जना व्यक्तिहरूलाई राखिएको प्रहरीले जनाएको छ।


