देशभर मनसुनी प्रभाव कायमै, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

एटुजेड समाचार

काठमाडौं। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ। यसका साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागका साथै मधेश, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बदली रहनेछ भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली हुनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली एवम् पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यसैगरी, मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थान र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी र तराई भूभागमा आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली एवम् पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु