काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले सामूहिकरूपमा ३३ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलाई हस्तान्तरण गरिएको हो ।
एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका थिए ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । बाढीप्रभावितको उद्धार, राहत वितरण तथा पुनः स्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी रहेको छ ।
एनसेल आजियाटा लिमिटेडले यसअघि पनि संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरिसकेको छ ।


