खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । खार्मीको निङ्गालेस्थित महभीरका ५४ वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका ५२ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो ।
मकैबारीमा आएको बाँदरलाई घेरा हालेर धपाउने क्रममा आज (मङ्गलबार) दिउँसो करिब २ः०० बजे आफूले प्रहार गरेको भरुवा बन्दुको गोली श्यामबहादुरको टाउकोमा लाग्दा श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको भलबहादुरले बताए।
‘मकैबारी दैनिकजसो बाँदर आउने गथ्र्यो । साथी (श्यामबहादुर) र म धपाउन गएका थियौँ’, उनले भने, ‘वल्लो डाँडा र पल्लो डाँडाबाट छेकारो काटेर धपाउने क्रममा मैले बाँदरलाई ताकेर भरुवा बन्दुक प्रहार गरेको थिएँ । त्यहीबेला साथी आइपुगेछ । बाँदरको ठाउँमा साथीको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भयो ।’
बाँदरलाई हानेको भरुवा बन्दुकको गोली साथीलाई लागेर मृत्यु भएपछि आफैँले प्रहरीलाई फोन गरेर जानकारी गराएको भलबहादुरले बताए। भरुवा बन्दुक प्रहार गर्ने भलबहादुरले दिएको जानकारीको आधारमा प्रहरी चौकी खार्मीका टोली पुगेर घटनास्थललाई सुरक्षित गरेको जनाइएको छ ।
जिल्लाबाट खटिएको प्रहरी टोली आइपुगेपछि सर्जमिन गरेर मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने तयारी गरिएको वडा सदस्य वीरेन्द्र राईले जानकारी दिए।
खार्मीमा भएको घटनाका विषयमा जानकारी पाउनासाथ अनुसन्धान गर्न जिल्लाबाट प्रहरी निरीक्षक निराजन बस्नेतको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।


