गंगानगर दुग्ध सहकारीद्वारा एक महिनामै २ वटा “डेरि मार्ट” सञ्चालनमा, एक वर्षमा ८ वटा मार्ट विस्तार गर्ने तयारी

चितवन — गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले एक महिनाको अवधिमै दुई वटा डेरी मार्ट सञ्चालनमा ल्याएको छ। किसानबाट सङ्कलित दूध तथा आफ्नै  ‘गंगा’  ब्रान्डका दुग्धजन्य उत्पादनलाई उपभोक्तामाझ सहज रूपमा पुर्‍याउने उद्देश्यले सहकारीले शाखा विस्तारलाई तीव्रता दिएको हो। सहकारीले अब एक वर्षभित्र यी २ सहित कुल ८ वटा डेरी मार्ट सञ्चालनमा ल्याउने तयारी गरेको छ।

भरतपुर महानगरपालिका–२२ धनौजीमा केन्द्रीय कार्यालय रहेको सहकारीले पछिल्लो समय भरतपुर र माडीमा डेरी मार्ट सञ्चालनमा ल्याएको हो। भरतपुर महानगरपालिका–१० स्थित ज्ञानदर्शन चोकमा हालै ‘गंगा सहकारी डेरी मार्ट’ सञ्चालनमा ल्याइएको छ। यसअघि माडी नगरपालिका–३ स्थित बसन्तपुर बजारमा समेत गंगा डेरी मार्ट सञ्चालनमा आइसकेको छ।

सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार अब चितवनका अन्य पालिकासहित जिल्लाबाहिरसमेत शाखा विस्तार गर्ने योजना रहेको छ। रत्ननगर, राप्ती, कालिका, खैरहनी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा डेरी मार्ट सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए। चितवनबाहिर दमौलीलगायतका स्थानमा समेत शाखा विस्तार गर्ने योजना रहेको अध्यक्ष सापकोटाले जानकारी दिए।

सहकारीले आफ्नै डेरीमा सङ्कलन तथा प्रशोधन गरिएको दूध आफ्नै “डेरि मार्ट” मार्फत उपभोक्तासम्म पुर्‍याउने लक्ष्य लिएको छ। शाखा विस्तारसँगै किसानले उत्पादन गरेको दूध तथा दुग्धजन्य वस्तुको बजार सुनिश्चित हुने र उपभोक्ताले ताजा तथा गुणस्तरीय उत्पादन सहज रूपमा पाउने सहकारीको अपेक्षा छ।

हालै सञ्चालनमा आएको माडी -३ स्थित बसन्तपुर बजार र भरतपुर–१० स्थित डेरी मार्टमा ‘गंगा’ ब्रान्डका दूध, दही, घ्यू, पनिर,चिज,खुवा, मोही लगायतका दुग्धजन्य उत्पादनसँगै अन्य खाद्य सामग्रीसमेत बिक्रीका लागि राखिएको छ।

वि.सं. २०४९ साल पुस १ गते स्थापना भएको गंगा दुग्ध उत्पादक सहकारीले हाल दैनिक करिब ६ हजार ५०० लिटर दूध सङ्कलन गर्दै आएको छ। सङ्कलित दूधमध्ये करिब १ हजार ५०० लिटर स्थानीय बजारमा बिक्री हुने गरेको छ भने बाँकी दूधबाट दही, घ्यू, पनिर, मोही लगायतका दुग्धजन्य उत्पादन तयार गरी बजारीकरण गरिँदै आएको छ।

सहकारीमा हाल ५२२ जना शेयर सदस्य आबद्ध छन्। दूध उत्पादन तथा बजारीकरणसँगै सहकारीले पशुपालनमा आवश्यक दाना तथा चोकरको खरिद–बिक्री, घाँसको बीउ वितरण, पशु बीमा, पशु स्वास्थ्य तथा प्राविधिक परामर्शलगायतका सेवा पनि दिँदै आएको छ।

कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न सहकारीले पशु स्वास्थ्य, पौष्टिक आहार तथा नश्ल सुधारसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। आगामी तीन वर्षभित्र आफूलाई दुग्ध क्षेत्रको नमुना डेरीका रूपमा विकास गर्ने सहकारीको लक्ष्य रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु