काठमाडौँ – दूध हाम्रो दैनिक खानपानको महत्त्वपूर्ण हिस्सा हो । यसको प्रयोग चिया कफी देखि बालबालिकालाई मिल्कशेक बनाउन र विविध मिठाई बनाउनसम्म प्रयोग हुन्छ । त्यसैले पनि दूधको गुणस्तरमा ध्यान दिन जरुरी छ ।
तर बजारबाट ल्याइएको दूधमा पानी वा अन्य पदार्थ मिसाइएको हुन सक्छ । यसमा शरीरलाई हानी गर्ने कुनै वस्तु पो मिसाइएको छ कि ? केही सामान्य परीक्षणबाट घरमै दूधको गुणस्तरबारे प्रारम्भिक अनुमान लगाउन सकिन्छ । आजको यस लेखमा हामी यस्तै केही तरिकाबारे कुराकानी गर्नेछौँ ।
यसरी हेर्नुस् पानी मिसाइएको छ कि छैन ?
सफा र सुख्खा काँचको सतहमा दूधको एक थोपा राखेर त्यसलाई बग्न दिनुहोस् । दूध बिस्तारै बग्छ र पछाडि सेतो धर्को जस्तो निशान छोड्छ भने यो दूधमा ठोस पदार्थ रहेको संकेत हुन सक्छ । यसको ठिक उल्टो दूध धेरै छिटो बग्छ भने यसमा पानीको मात्रा बढी हुन सक्छ ।
उमालेपछि लाग्ने तर हेरेर
उमालेर चिसो भएपछि दूधमा तर लाग्छ । तरको मोटोपन दूधको प्रकार र त्यसमा रहेको चिल्लोको मात्रामा निर्भर गर्छ । त्यसैले तर धेरै वा थोरै बनेकै आधारमा दूध शुद्ध वा मिलावट हो भनेर निष्कर्ष निकाल्न मिल्दैन ।
आयोडिन परीक्षण गरेर
दूधमा मिलावट पत्ता लगाउने एउटा उपाय आयोडिन टेस्ट हो । सही तरिका र सावधानी बिना घरमा केमिकल परीक्षण गर्नु सुरक्षित हुन्न । यसका लागि फूड टेष्टिङ किटको प्रयोग गर्न सकिन्छ । तपाईँले यस काममा मान्यता प्राप्त प्रयोगशालाको सहायता पनि लिन सक्नु हुन्छ ।
गन्ध, रंग र स्वादमा दिनुस् ध्यान
दूध प्रयोग गर्नुअघि यसको गन्ध सुँघ्नुहोस् अनि रंगमा पनि ध्यान दिएर हेर्नुहोस् । असामान्य गन्ध, रंग परिवर्तन वा सामान्यभन्दा फरक स्वाद देखिएमा दूध नपिउनु राम्रो हुन्छ । दूध अमिलो हुँदैमा सधैँ मिलावट भएको भन्ने हुँदैन । गलत तापक्रममा राख्दा पनि दूधको स्वाद अमिलो हुन सक्छ ।
प्याकेटको लेबल र अवस्था जाँच
दूधको प्याकेटमा उत्पादन तथा म्याद सकिने मिति, भण्डारणसम्बन्धी निर्देशन र आवश्यक लेबल हेर्नुहोस् । प्याकेट फुलेको छ, चुहिएको छ वा बिग्रिएको देख्नु भएमा दूध नकिन्नुहोस् । किनेपछि पनि प्याकेटमा उल्लेख गरिएको तापक्रम र भण्डारणसम्बन्धी निर्देशन पालना गर्नु जरुरी छ ।
ध्यान दिनु पर्ने कुरा:
यी घरेलु उपायहरू प्रारम्भिक जाँचका लागि मात्र हुन् । यी उपायले दूधमा भएको हरेक प्रकारको मिलावट पक्का प्रमाणित गर्दैन । शंका लागेको छ भने प्रयोगशाला परीक्षण गर्नु वेश हुन्छ । यस्तो परीक्षण बढी भरपर्दो हुन्छ ।
यो लेख सामान्य जानकारीका लागि अनलाइन स्रोतको सहयोगमा तयार पारिएको हो ।


