बिदामा पनि रोकिएन चितवनमा डीएनए नमूना सङ्कलन, बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा

एटुजेड समाचार

चितवन – रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै पहिचानका लागि डीएनए नमूना सङ्कलनको कामलाई निरन्तरता दिइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म जिल्लामा ३ सय ६२ वटा शव फेला परेका छन्। तीमध्ये ३ सय ३३ शवको व्यवस्थापन भइसकेको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ।

शवहरूको वैज्ञानिक पहिचानका लागि भदौ १६ गतेदेखि डीएनए नमूना सङ्कलन सुरु गरिएको हो। भदौ २१ गतेसम्म हराइरहेका व्यक्तिका आफन्त गरी ७१ जनाको डीएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भदौ १६ गते ७ जना, भदौ १७ गते २६ जना, भदौ १८ गते २२ जना, भदौ १९ गते ७ जना, भदौ २० गते ६ जना र भदौ २१ गते ३ जनाको नमूना सङ्कलन गरिएको छ।

यसअघि नियमित दिनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म डीएनए नमूना सङ्कलनको सेवा दिइँदै आएको थियो। पछिल्लो समय बिदाको दिनमा समेत नमूना सङ्कलनको कामलाई निरन्तरता दिइएको छ।

प्रहरीका अनुसार बिदाको दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म डीएनए नमूना सङ्कलन सेवा सञ्चालन हुनेछ।

बाढीपछि बेपत्ता भएका व्यक्तिका आफन्तबाट सङ्कलन गरिएको डीएनए नमूनालाई फेला परेका शवसँग परीक्षण गरी पहिचान गर्न सहज हुने भएकाले नमूना सङ्कलनको कामलाई निरन्तरता दिइएको हो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु