भोटेकोशी बाढीपीडितलाई रोटरी क्लब अफ चितवनद्वारा राहत सामग्री वितरण

एटुजेड समाचार

नुवाकोट – भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई रोटरी क्लब अफ चितवनले राहत सामग्री वितरण गरेको छ। क्लबले नुवाकोटको विदुर नगरपालिका–९, त्रिशूलीस्थित स्टार बोर्डिङ स्कुलको आश्रयस्थलमा पुगेर मेघाङ गाउँपालिकाका ९७ परिवारका २९७ जनालाई राहत सामग्री हस्तान्तरण गरेको हो।

बाढीका कारण दैनिक जीवनयापनका लागि आवश्यक खाद्यान्न, आवास तथा व्यक्तिगत सरसफाइका सामग्रीको अभाव झेलिरहेका परिवारलाई लक्षित गरी करिब ३७ प्रकारका राहत सामग्री वितरण गरिएको क्लबले जनाएको छ। राहत सामग्रीमा चामल, दाल, नुन, आलु, प्याज, बालबालिकाका खाद्य सामग्री, त्रिपाल, साबुन, टूथपेस्ट, ब्रस, सेनेटरी प्याडलगायत दैनिक उपभोग्य तथा आपत्कालीन सामग्री रहेका छन्।

राहत सामग्रीको कुल अनुमानित मूल्य ७ लाख ३५ हजार रुपैयाँ रहेको छ। आवश्यक रकम क्लबका सदस्य, उनीहरूका आफन्त, सहयोगी तथा दाताबाट व्यवस्थापन गरिएको क्लबले जनाएको छ।

राहत वितरणमा मेघाङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङ, नुवाकोट जिल्ला खेलकुद संघका अध्यक्ष विजय गुरुङ, सामाजिक अभियन्ता स्नेही तामाङ तथा सन्तोष बस्ताकोटीलगायतको सहभागिता र सहजीकरण रहेको थियो। क्लबका अध्यक्ष रोटेरियन गेहेन्द्रमान श्रेष्ठ, निर्वाचित अध्यक्ष रोटेरियन राजन पिया तथा सर्भिस प्रोजेक्ट चेयर इन्जिनियर गुणेश्वर महतोले राहत सामग्री हस्तान्तरण गरेका थिए।

विद्युत् अभावका कारण खानेपानी पम्पिङमा समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै क्लबले प्रभावित क्षेत्रमा सोलार प्यानल र सोलार पम्प जडान गरी खानेपानी प्रणाली सञ्चालन गर्ने योजना बनाएको छ। उक्त काम एक साताभित्र सुरु गर्ने लक्ष्य रहेको सर्भिस प्रोजेक्ट चेयर महतोले बताए।

क्ल्बका पूर्वअध्यक्ष भानु शर्माका अनुसार प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गर्न ‘Needs Assessment’ गरी त्यसका आधारमा पुनःस्थापना, पुनर्निर्माण तथा दीर्घकालीन सहयोगका कार्यक्रम अघि बढाइनेछ।

निर्वाचित अध्यक्ष राजन पियाले स्थानीय सरकार, समुदाय, रोटरी सदस्य तथा अन्य संस्थासँग सहकार्य गर्दै प्रभावित समुदायको दीर्घकालीन पुनःस्थापना र दिगो विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष गेहेन्द्रमान श्रेष्ठले सहयोगदाता तथा स्वयंसेवकप्रति धन्यवाद दिँदै आगामी कार्यक्रम रोटरी इन्टरनेसनल, रोटरी डिष्ट्रिक्ट ३२९२, अन्य रोटरी क्लब तथा स्थानीय सरकारसँगको सहकार्यमा अघि बढाइने बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु