भोटेकोशी बाढीमा १०० उद्धार उडान, नेपाली पाइलट प्रिया अधिकारी विश्वभर चर्चित

एटुजेड समाचार

काठमाडौं – भोटेकोशी बाढीपछि सयौँको ज्यान बचाउन आकाशमा उडिरहेकी नेपाली महिला पाइलट अहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चामा छिन्। नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन प्रिया अधिकारीको साहसिक उद्धार अभियानले अहिले विश्वको ध्यान तानेको छ।

भोटेकोशी बाढीपछि खोज तथा उद्धार अभियानमा निरन्तर खटिएकी क्याप्टेन प्रिया अधिकारीको साहस र समर्पणलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत प्राथमिकताका साथ प्रस्तुत गरेका छन्। CNN लगायतका अन्तर्राष्ट्रिय मिडियाले प्रियाको उद्धार अभियानबारे समाचार प्रकाशित गरेका छन्।

केही दिनमै करिब १०० उद्धार उडान गर्दै उनले बाढी प्रभावित क्षेत्रबाट थुप्रै मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेकी छन्। भोटेकोशीको साँघुरो खोँच, अस्थिर जमिन र क्षण–क्षणमा बदलिने मौसमका बीच हेलिकप्टर उडाउनु आफैंमा निकै चुनौतीपूर्ण थियो।

त्यसमाथि एउटै क्षेत्रमा करिब २० वटा हेलिकप्टर सञ्चालनमा रहेका बेला निरन्तर समन्वय गर्दै सुरक्षित रूपमा उद्धार उडान गर्नुपर्ने अवस्था थियो। तर चुनौतीका बीच पनि प्रिया अधिकारी आफ्नो जिम्मेवारीबाट पछि हटिनन्। उद्धार गरिएका मानिसलाई सुरक्षित स्थानमा ल्याउन सफल हुँदा आफूलाई ठूलो सन्तोष मिल्ने उनको भनाइ छ।

वर्षौँदेखि हिमाली क्षेत्रमा खोज तथा उद्धार उडानको अनुभव बटुलेकी प्रियाले आफ्नो अनुभव, साहस र समर्पणमार्फत विपद्को समयमा महत्वपूर्ण योगदान दिएकी छन्। उनको यही साहसिक कार्य अहिले नेपाली महिलाका लागि प्रेरणाको उदाहरण बनेको छ।

आकाशमा हेलिकप्टर उडाउने मात्र होइन, संकटमा परेका जीवनलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी पनि सम्हालिरहेकी छन्— क्याप्टेन प्रिया अधिकारी।उनको साहसलाई अहिले नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय मिडियाले समेत सलाम गरिरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु