बाढीबाट पूर्वाधारमा दुई खर्ब हाराहारी क्षति भएको मन्त्री लम्सालको दाबी

एटुजेड समाचार

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले बुधबार बिहान आएको बाढीबाट देशभरका भौतिक पूर्वाधारमा करिब दुई खर्ब रुपैयाँ बराबरको क्षति भएको बताएका छन्।बाढीबाट भएको क्षतिबारे सोधिएको प्रश्नमा मन्त्री लम्सालले प्रारम्भिक विवरणअनुसार पूर्वाधार क्षेत्रमा मात्रै दुई खर्ब रुपैयाँ हाराहारीको क्षति भएको जानकारी आएको बताए।

उनका अनुसार बाढीले सडक तथा पुलसहितका महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। क्षतिग्रस्त सडक र पुलको पुनर्निर्माण तथा मर्मतलाई प्राथमिकतामा राखेर यथाशीघ्र सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

तिब्बतबाट नेपाल प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि कतिपय क्षेत्रमा यातायातसमेत प्रभावित भएको छ।

बाढीबाट जनधनको समेत ठूलो क्षति भएको छ। हालसम्म बाढीमा परी सात जनाको मृत्यु भएको पुष्टि भएको जनाइएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने सम्भावना रहेको छ।सरकारले बाढीबाट क्षतिग्रस्त पूर्वाधारको अवस्था मूल्यांकन गरी तत्काल आवश्यक मर्मत तथा पुनर्निर्माणको काम अघि बढाउने जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु