काठमाडौं – चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवाको टिमुरे र नुवाकोटको बेत्रावतीमा रहेका बैंक तथा वित्तीय संस्थाका दर्जनभन्दा बढी शाखा प्रभावित भएका छन् ।
नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु र माछापुच्छ्रे लगायत नौ वाणिज्य बैंकका शाखा बाढीबाट प्रभावित भएका छन् । केही शाखामा ठूलो भौतिक क्षति पुगेको र केही संरचना बाढीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको र त्यसपछि क्षतिको विस्तृत विवरण संकलन गरिने बताए । बैंक तथा वित्तीय संस्था परिसंघले पनि हाल भौतिक क्षतिको विवरणभन्दा कर्मचारीको अवस्थाबारे जानकारी लिन र उद्धार समन्वयलाई प्राथमिकता दिइएको जनाएको छ ।


