बाजुरा – सुदूरपश्चिमको प्रमुख धार्मिक आस्थाको धरोहर धर्तिको भू—स्वर्ग बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान गरेको छ । जगत जननी बडीमालिकामा जनैपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुन जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षकको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
सोमबार विहान सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिर परिसरमा नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरीको एक टुकुडीको सलामी सहित सरकारी टोलीको विदाई गरिएको हो ।
बडीमालिका नगरपालिका लगायत स्थानीय पालिकाहरुका आ(आफ्नै पूजा टोली पनि पुजाका लागि गएका छन् । यस अघि डोटी, धनगढी लगायत ठाउँबाट सरकारी टोली बडीमालिका गइसकेका छन् ।
बडीमालीका जानुअघि सदरमुकाम मार्तडीमा धार्मिक विधिअनुसार पूजाआजा गरिएको थियो । परम्परागत मागल, टीका, कलस, जमरा, बाजा सहित टोलीको भव्य विदाई गरिएको हो । परापूर्व कालदेखि बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार जिल्लाको सरकारी टोली डोलीसहित बडीमालिका मन्दिरतर्फ लागेको हो ।
हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन अनुसार,जिल्लाबाट सरकारी टोली बडीमालिका तर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । धार्मिक परम्परा अनुसार,सलामी,डोली,बाजागाजा सहित भव्य विदाई गरिएको उनले जानकारी दिए ।
बडीमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ,गढवाल, पिथौरागढ लगायतका ठाउँबाट पनि तीर्थयात्री बडीमालिका पुग्ने गरेका छन् ।
बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका हिसाबले निकै महत्त्वपूर्ण आस्थाको क्षेत्र हो । समुन्द्री सतहदेखी करिब ४ हजार २ सय मिटरको उचाईमा रहेको बडीमालिका क्षेत्र विशाल हरिया फाँट, पाटन, त्रिवेणी, खेतीवेती, लौरी विनायक, धर्मद्वार, यहाँका मुख्य आकर्षक केन्द्र हुन् ।
बडीमालिकालाई सति देविको रुपमा लिईन्छ । सति देविको बायाँ कुम पतन भए पछि यसको उत्पति भएको धार्मिक विश्वास छ । यो पर्यटकीय क्षेत्र मात्र नभई धार्मिक हिसाबमा अझै महत्त्वपूर्ण मानिन्छ । सुन्दर हिमाल,मनोरम प्राकृतिक दृश्य, हरियाली फाँट, उकालो, ओरालो मैदान, भेडा, घोडा, डाँफे, बहुमुल्य जडिबुटी यहाँका गहना हुन् ।
बडीमालिकामा पूजाको लागी डोटीबाट डोल,जुम्लाको चन्दनाथ मन्दिर र कालिकोटबाट सरकारी टोली बाजुरा पुगाई सरकारी टोली पूजा,बाजागाजा सहित बडीमालिका लैजाने प्रचलन रहिआएको छ । नेपाली सेनाले यहाँ प्राचिन स्मारक २०१३ अनुसार,पुरातत्व विभागको डिजाइनमा कलात्मक मन्दिर निर्माण समेत गरेको छ । हरेक बर्ष मेला लाग्ने बडीमालिकामा बाजुरासँगै डोटी,जुम्ला,कालिकोटबाट समेत सरकारी टोली पुग्ने परम्परा छ ।
पछिल्लो समय यहाँ पर्यटकको आकर्षण बढ्दै गएको छ । चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले धनगढीमा आयोजित एक कार्यक्रममा बडीमालिकालाई ‘स्वीजरल्याण्डको बाउ’ भनेर सम्बोधन गरे पश्चात् झनै चर्चामा आएको हो ।


