बागमतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

एटुजेड समाचार

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज (सोमबार) विश्वासको मत लिने भएका छन्। उनले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उक्त दिन विश्वासको मतको प्रस्ताव सभामा प्रस्तुत गर्ने छन्।

थापा मगरलाई बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ। राप्रपाले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा विपक्षमा मतदान गर्न, तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको हो।

बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले ह्विप जारी गरेकी हुन्। तामाङले जारी गरेको ह्विप आइतबार दिउँसो नै प्रदेश सभाका सबै राप्रपा सदस्यलाई पठाइएको छ।

यो ह्विपपछि बागमती प्रदेश सभामा सरकारको पक्षमा आवश्यक बहुमत जुटाउने प्रयासलाई थप चुनौतीपूर्ण बनाउने देखिएको छ।

राप्रपाका प्रदेशसभा सदस्यहरूले पार्टीको निर्देशनअनुसार मतदान गरेमा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा उनीहरूको समर्थन रहने छैन। यससँगै आज हुने विश्वासको मतको मतदानलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु