एलपी ग्यासको आपूर्ति नियमित, अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

एटुजेड समाचार

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति पूर्ण रूपमा नियमित रहेको जनाउँदै आम उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास खरिद तथा अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।

निगमले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको तथ्याङ्क अनुसार बजारमा एलपी ग्यासको बिक्री र वितरण उल्लेख्य रूपमा बढेको छ।

तथ्यांकअनुसार २०८२ चैतमा ३८ हजार ७९९ दशमलव ४५ मेट्रिक टन ग्यास आयात तथा बिक्री भएको थियो। यो करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर बराबर हो। त्यस्तै, २०८३ वैशाखमा ३२ हजार ५६ दशमलव ४४ मेट्रिक टन अर्थात् २२ लाख ५७ हजार ४९६ सिलिन्डर, जेठमा ३२ हजार ८४२ दशमलव २९ मेट्रिक टन अर्थात् २३ लाख १२ हजार ८३७ सिलिन्डर र असारमा ४४ हजार ५४४ दशमलव ५० मेट्रिक टन अर्थात् ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बराबरको ग्यास आयात तथा बिक्री भएको निगमले जनाएको छ।

श्रावण महिनामा भने ५७ हजार ३१६ दशमलव ३८ मेट्रिक टन ग्यास आयात तथा बिक्री भएको छ। यो करिब ४० लाख ३६ हजार ३६४ सिलिन्डर बराबर हो।

निगमका अनुसार श्रावण महिनामा अघिल्लो महिनाको तुलनामा करिब ९ लाख सिलिन्डर बढी बिक्री वितरण भएको छ। हाल भाद्र महिनामा पनि एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रूपमा भइरहेको र आगामी दिनमा समेत निरन्तर रहने निगमले जनाएको छ।

त्यसैले आम उपभोक्तालाई आफ्नो आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न निगमले पुनः आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु