चितवनमा बढ्दै डेंगु र स्क्रब टाइफसको जोखिम, एक महिनामै ३४ जनामा संक्रमण

एटुजेड समाचार

चितवन – चितवनमा वर्षायामसँगै डेंगु र स्क्रब टाइफसको संक्रमण बढ्न थालेको छ। साउन महिनाको २८ गतेसम्म जिल्लामा ३४ जनामा स्क्रब टाइफस र ४ जनामा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ गतेदेखि २८ गतेसम्म जिल्लाभित्र र बाहिरका बिरामीसमेत गरी स्क्रब टाइफसका लागि २११ जनाको परीक्षण गरिएको थियो। जसमध्ये ३४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, १७८ जनाको डेंगु परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको छ।स्थानीय तहअनुसार हेर्दा भरतपुर महानगरपालिकामा स्क्रब टाइफसको जोखिम बढी देखिएको छ। भरतपुरमा १ पुरुष र ४ महिला गरी ५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ।

रत्ननगर नगरपालिकामा पनि १ जना पुरुषमा स्क्रब टाइफस संक्रमण देखिएको छ। डेंगुतर्फ कालिका नगरपालिकामा १ जना महिला र इच्छाकामना गाउँपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

यता खैरहनी, माडी र राप्ती नगरपालिकामा भने हालसम्म डेंगु र स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छैन।चितवनका स्वास्थ्य संस्थामा उपचारका लागि अन्य जिल्लाबाट आएका बिरामीमा भने संक्रमणको संख्या अझ बढी देखिएको छ।

अन्य जिल्लाका ११ पुरुष र १७ महिला गरी २८ जनामा स्क्रब टाइफस पुष्टि भएको छ।
त्यस्तै, अन्य जिल्लाका २ जना पुरुषमा डेंगु संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामै चितवनमा डेंगुका २ जना नयाँ बिरामी थपिएका छन्। जसमध्ये कालिकाका १ जना र अन्य जिल्लाका १ जना रहेका छन्। यस्तै, स्क्रब टाइफसका २ जना नयाँ संक्रमित पनि थपिएका छन्। दुवै जना अन्य जिल्लाका हुन्।स्वास्थ्यकर्मीका अनुसार अहिलेको वर्षायाम डेंगु र स्क्रब टाइफस फैलिने जोखिमको समय हो।

वर्षायाममा पानी जम्ने र लामखुट्टे तथा माइटको सक्रियता बढ्ने भएकाले संक्रमणको जोखिम पनि बढ्ने गर्छ।त्यसैले घर वरपर पानी जम्न नदिने, वातावरण सफा राख्ने र लामखुट्टे तथा माइटको टोकाइबाट जोगिन जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु