तातो खानेकुरा राख्दा बिग्रिन्छ फ्रिज ?

एटुजेड समाचार

बिहान–बेलुकाको खाना होस् वा दिउँसोको खाजा, खानेकुरा रहनु सामान्य कुरा हो। यी खानेकुरालाई बिग्रिन नदिन धेरैजसो मानिसले फ्रिजमा राख्छन्। तर खानेकुरा तातो छ र यसलाई सिधै फ्रिजमा राखियो भने के फ्रिज बिग्रिन्छ? यो प्रश्न आउँदा प्रायः मानिसहरू अलमलमा पर्छन्।

फ्रिजमा तातो खानेकुरा राख्नेबित्तिकै फ्रिज तत्काल बिग्रिँदैन। तर बारम्बार यसो गरिरहँदा यसको चिसोपन, बिजुली खपत र खानाको गुणस्तरमा असर पर्न सक्छ।

तातो खाना राख्दा फ्रिजमा बढ्छ भार

जब हामीले धेरै तातो खानेकुरा फ्रिजमा राख्छौँ, त्यसको तापले फ्रिजभित्रको तापक्रम बढाउँछ। यस्तो अवस्थामा फ्रिजलाई फेरि सामान्य तापक्रममा फर्काउन लामो समयसम्म कूलिङ गर्नुपर्ने हुन्छ। यसले कम्प्रेसरमा बढी दबाब पर्न सक्छ र बिजुलीको खपत पनि बढ्न सक्छ। यद्यपि, एक–दुई पटक सामान्य मात्रामा तातो खानेकुरा फ्रिजमा राख्दा भने फ्रिज तुरुन्तै बिग्रिँदैन।

तातो खानाले फ्रिजभित्रको तापक्रम अस्थायी रूपमा बढाउँदा नजिकै भण्डारण गरिएका दूध, दही, तरकारीलगायत अन्य नाश हुने खानेकुरामा पनि असर पर्न सक्छ। विशेषगरी खाना ठूलो र गहिरो कन्टेनरमा राखिएको छ भने त्यसलाई चिसो हुन धेरै समय लाग्छ। यसले ब्याक्टेरियाको वृद्धिको जोखिमसमेत बढाउन सक्छ।

खाना पूरै चिसो हुँदासम्म कुर्नु पर्दैन

यसको अर्थ खानेकुरालाई फ्रिजमा राख्नुअघि पूरै चिसिन दिनुपर्छ भन्ने होइन। कोठाको तापक्रममा लामो समयसम्म राखिएको खाना पनि सुरक्षित नहुन सक्छ। त्यसैले खाना पकाएको केही समयपछि त्यसबाट निस्कने तीव्र बाफ कम भएपछि फ्रिजमा राख्न सकिन्छ।

तातो खानेकुरालाई साना कन्टेनरमा राख्नुहोस्

खाना छिटो भण्डारण गर्नुपर्ने अवस्था छ भने ठूलो कन्टेनरको सट्टा साना र चेप्टा कन्टेनरमा बाँडेर राख्नुहोस्। यसो गर्दा खानेकुरा छिटो चिसिन्छ र फ्रिजभित्रको तापक्रममा पनि कम असर पर्छ।

कन्टेनर रेफ्रिजरेटरमा राख्न सुरक्षित हुनुका साथै हावा नछिर्ने हुनुपर्छ। यसो गर्दा खानेकुराको ओसिलोपन र गन्ध अन्य खाद्य वस्तुमा सर्नबाट जोगाउन सकिन्छ।

तातो खानेकुरा राख्दा फ्रिजको मोटर बिग्रिन्छ ?

एक–दुई पटक मात्र तातो खानेकुरा फ्रिजमा राख्दा सामान्यतया केही हुँदैन। तर धेरै तातो र ठूलो परिमाणमा खानेकुरा बारम्बार फ्रिजमा राख्दा फ्रिजले भित्रको तापक्रम घटाउन बढी मेहनत गर्नुपर्ने हुन सक्छ।

त्यसैले धेरै तातो खानेकुरालाई फ्रिजमा राख्नुअघि केही समय चिसिन दिनु उपयुक्त हुन्छ। त्यसपछि स–साना कन्टेनरमा राखेर फ्रिजमा भण्डारण गर्न सकिन्छ। यसो गर्दा खाद्य सुरक्षा कायम राख्नुका साथै फ्रिजको कूलिङ प्रणालीमा पर्ने अनावश्यक भारसमेत कम गर्न सकिन्छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु