रामेछाप – नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रदेश सरकारका विरुद्ध फैलाइएको धारण सङ्घीयताको विपक्षमा रहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल रामेछाप आबद्ध पत्रकारसँग शुक्रबार मन्थलीमा कुरा गर्दै उनले प्रदेशको कारण खर्च बढ्यो भन्ने कुरा लगत भएको दाबी गरे । ‘प्रदेश सरकारप्रति फैलाइएको धारणा सङ्घीयताको विपक्षमा छ, प्रदेशका कारणले खर्च बढ्यो भनिन्छ, त्यो अत्यन्त गलत हो’ उनले भने ।
तीनवटा तहका सरकारमध्ये सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार प्रदेश सकार नै भएको उनको भनाइ छ । ‘सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने सरकार चाहिँ काम लाग्दैन भन्ने, साधारण खर्च बढी गर्ने चाहिँ अपरिहार्य छ भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यो उचित होइन’, उनले भने ।
पत्रकारसँग कुरा गर्दै पोखरेलले संघीयतामा प्रदेश नै मुख्य भएको स्पष्ट पारे । ‘प्रदेश छैन भने सङ्घीयता नै छैन, कि सङ्घीयता नै बेठिक हो भन्नेमा जानु प¥यो, सङ्घीयता ठिक हो भन्ने हो भने प्रदेशको भूमिकालाई स्विकार्नु पर्छ’, पोखरेलले भने ।
नेपालको राजनीतिक अस्थिरताको सबैभन्दा बढी सिकार प्रदेश भएको पनि उनले बताए । सरकार धेरै परिवर्तन हुँदा जनतामा नैराश्यता बढेको उनको धारणा छ ।
पोखरेलले प्रदेश सरकारमा स्थिरता होस् भनेर नै कांग्रेससँग सहकार्य गरिएको भए पनि कांग्रेसले छाडेको कारण अहिलेको अवस्था आएको उनको भनाइ छ । कांग्रेसले नेतृत्व गरेको ठाउँमा मुख्यमन्त्रीले एमालेका मन्त्रीहरूलाई निकाले पछि यस्तो अवस्था आएको उनले बताए ।
एमाले अहिले पनि कांग्रेस र नेकपा सहितको प्रदेश सरकारकै पक्षमा रहेको भए पनि कांग्रेस तीनपार्टी मिलेर सरकारमा जान तयार नरहेको उनले बताए । यद्यपि मधेस प्रदेशमा तीनपार्टीसँग मिलेर कांग्रेसले नेतृत्व गरिरहेको उनले स्मरण गराए ।
अहिले जनता स्थायित्वको पक्षमा रहेको बताउँदै उनले त्यो कुरालाई एमालेले पनि सम्बोधन गर्नुपर्ने उनको धारणा छ । अहिलेकै मुख्यमन्त्री र दलको नेतालाई कायम राखेरै जाँदा राम्रो हुनु सुझाव आफूले पार्टी अध्यक्ष केपी ओलीलाई दिएको उनले बताए ।
उनले नेकपा एमालेसँग भएको जस्तो तागत अन्य कुनै दलसँग नभएको बताउँदै यो तागतलाई फेरि देशको हितको पक्षमा लगाउनु पर्नेमा जोड दिए । मुलुकका सामु भएको चुनौतीको सामना गर्न सक्ने एक मात्र शक्ति नेकपा एमाले भएको उनले दाबी गरे ।
उनले लोकतन्त्र, मुलुक र संविधानको रक्षाका लागि फेरि दलहरू बलियो हुनु पर्ने उनले बताए । ‘यसको लागि कार्यकर्ताको मनोबल उकास्ने कुरा र जनतामा टुटेको विश्वासलाई उठाउने दुईवटा काम हामीले गर्नु पर्दछ’, उनले भने ।
पोखरेलले पार्टीको पुनर्गठन अभियान कुनै व्यक्ति विशेषको अभियान नभएको पनि स्पष्ट पारे । यो पार्टीको रक्षा र आन्दोलनको हितको कुरा भएको उनको धारणा छ । वैचारिक र राजनीतिक रूपमा पार्टीलाई बलियो बनाउन पार्टीमा सुद्धिकरण गर्नुपर्ने, संगठनलाई सुदृढीकरण र यथास्थितिबाट पार्टीलाई बाहिर निकाल्नु पर्नेमा उनले जोड दिए ।
अहिलेको सरकार सुरुमा आउँदा तयारीको साथ आएको देखिए पनि एक सय दिनसम्म आइपुग्दा सरकार पूर्णरुपमा असफल भएको उनको दाबी छ । सरकारले जनताको सामु गरेको बाचा पुरा गर्न नसकेको बताउँदै बताउँदै सरकारकै कारण नागरिकमा व्यवस्था प्रति नै वितृष्णा बढ्ने जोखिम देखिएको उनको धारणा छ ।


