काठमाडौं – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका १३ प्रमुख सडक तथा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले शुक्रबार राजमार्गको अवस्थाबारे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
नेपाल प्रहरीले शुक्रबार बिहान करिब १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ।
मकवानपुरको कान्तिलोकपथमा पनि वर्षायामको जोखिमलाई ध्यानमा राख्दै दैनिक बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ।
प्रहरीका अनुसार इलामको राजदुवालीस्थित मेची राजमार्ग, सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रको अर्निको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बैसेरीस्थित बेनी–जोमसोम सडक, रुकुम पश्चिमको भेरी करिडोर, मुस्ताङको कैकु खोलास्थित बेनी–जोमसोम सडक, गुल्मीको मदन भण्डारी राजमार्ग, कालिकोटको कर्णाली राजमार्ग, रोल्पाको घोराही–थवाङ शहीद राजमार्ग तथा सोलुखुम्बुको निलदोर्जे पर्यटक सडकखण्ड (सल्लेरी–लुक्ला) विभिन्न स्थानमा पहिरो, लेदो र सडक कटानका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
कतिपय सडकखण्डमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको भए पनि अधिकांश स्थानमा सडक खुलाउने प्रयास जारी रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा पहाडी तथा हिमाली जिल्लातर्फ यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।


