काठमाडौंः मेक्सिकोको सिनालोआ राज्यमा एक चर्चित सामाजिक सञ्जाल इन्फ्लुएन्सरको लाइभस्ट्रिमकै क्रममा गोली हानी हत्या भएको छ।
टिकटकमा करिब ६ लाख फलोअर्स रहेका २५ वर्षीय सेसर गास्टेलम साथीहरूसँग भिडियो बनाइरहेका बेला मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनीमाथि गोली प्रहार गरेका हुन्।
सेसर गास्टेलम एक फास्टफुड रेस्टुरेन्टबाहिर आफ्ना दुई साथीसँग लाइभस्ट्रिम गरिरहेका थिए। सामाजिक सञ्जालको एक च्यालेन्जअन्तर्गत उनीहरू तीनैजना डेलिभरी ड्राइभरको पोसाकमा देखिएका थिए।
त्यसै क्रममा मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीमध्ये पछाडि बसेका व्यक्तिले गास्टेलमको टाउकोमा गोली प्रहार गरेका थिए।
घटनालगत्तै लाइभस्ट्रिम बन्द भएको थियो। यद्यपि, घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सिनालोआ राज्यका सुरक्षा अधिकारीहरूले गास्टेलमको मृत्युको पुष्टि गरेका छन्।


