रौतहट – निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पूर्ण रूपमा डुबानमा परेको छ ।
सडकमाथि कम्मरसम्म आउने बाढीको पानी ओभरफ्लो भएर बगिरहेको भए तापनि स्थानीय बासिन्दा, यात्रु र सवारी चालकहरू ज्यानको बाजी थापेर जोखिमपूर्ण यात्रा गर्न विवश छन् ।
राजपुर नगरपालिका अन्तर्गत पर्ने फतुवा पुलको पश्चिम तर्फको लचकामा लाल बकैया खोलाको बाढीले उग्र रूप लिएको हो । सडक जलमग्न भई तीव्र बहाव हुँदा समेत दैनिक उपभोग्य वस्तुको आपूर्ति, स्वास्थ्य उपचार र आकस्मिक काम सल्टाउनका लागि सर्वसाधारणहरू त्यही उर्लँदो भेलमा हेलिएर बाटो काटिरहेका छन् ।
हुलाकी राजमार्ग तराई–मधेसको लाइफलाइन मानिन्छ । यो खण्ड रौतहटलाई छिमेकी जिल्ला र अन्य स्थानीय तहहरूसँग जोड्ने सबैभन्दा छोटो र महत्त्वपूर्ण मार्ग हो । यही मार्ग भएर दैनिक रूपमा सयौँ मोटरसाइकल, साना चारपांग्रे सवारी साधन, एम्बुलेन्स र पैदल यात्रीहरू आवतजावत गर्छन् ।
वर्षायाम सुरु हुनासाथ यो सडक खण्ड टापु जस्तै बन्ने गरेको छ । यस क्षेत्रमा अन्य कुनै वैकल्पिक सडक वा डाइभर्सनको व्यवस्था नहुँदा स्थानीय नागरिकसँग जोखिम मोल्नुको अर्को कुनै विकल्प छैन ।
‘बजार जानु पर्छ, बिरामी पर्दा अस्पताल पुग्नु पर्छ, बाटो बन्द गरेर घरमै भोकै बस्न सकिँदैन,’ एक स्थानीय यात्रुले आक्रोश पोख्दै भने, ‘ज्यान त हत्केलामा छ, तर बाध्यताले खोला जस्तै बगेको सडक पार गर्नै पर्छ ।’
बाढीको बहाव र गति लगातार बढिरहेकाले हुलाकी राजमार्गको उक्त खण्डमा जुनसुकै बेला ठुलो दुर्घटना हुन सक्ने खतरा बढेको छ । तीब्र बहावका कारण साना सवारी साधनहरू बगाउने जोखिम उच्च छ ।
सम्भावित मानवीय क्षति रोक्नका लागि उक्त स्थानमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ । सुरक्षाकर्मीहरूले बाढी प्रभावित सडक खण्डमा सूक्ष्म निगरानी राखिरहेका छन् । पानीको सतह र बहाव अझै बढेमा दुर्घटना टार्नका लागि तत्कालै सडक पूर्ण रूपमा बन्द गराइने सुरक्षा स्रोतले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनका अनुसार जल स्तर अझै बढ्न सक्ने सम्भावना छ । वर्षा निरन्तर भइरहेकाले लाल बकैया नदी आसपासका तटीय क्षेत्रका बासिन्दा तथा सोही मार्ग प्रयोग गर्ने यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र विना काम जोखिमपूर्ण यात्रा नगर्न स्थानीय प्रशासनले सार्वजनिक अपिल समेत गरेको छ ।
यो समस्या राजपुरबासीका लागि नयाँ भने होइन । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै लाल बकैया खोलाले हुलाकी राजमार्गको यो खण्डलाई बगाउने वा डुबाउने गर्छ । हिउँदमा सरकारी निकायले ध्यान नदिने र वर्षामा जनताले सास्ती भोग्नुपर्ने नियति वर्षौँदेखि दोहोरिँदै आएको छ ।
स्थानीय बासिन्दा र नागरिक समाजले यो मौसमी सास्तीको दीर्घकालीन समाधान खोज्न सरकारसँग जोडदार माग गरेका छन् । समयमै स्थायी संरचना नबनाए कुनै पनि दिन यहाँ ठुलो मानवीय विपत्ति आउन सक्ने चेतावनी स्थानीय अगुवाहरूले दिएका छन् ।


