यदि तपाईं नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने तयारीमा हुनुहुन्छ भने, यो जानकारी तपाईंका लागि निकै महत्त्वपूर्ण छ।
काठमाडौं र धादिङलाई जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँको लागतमा निर्माण भएको यो सुरुङमार्ग शिलान्यास भएको सात वर्षपछि सञ्चालनमा आएको हो।
सुरुङमार्ग सञ्चालनमा आएपछि धेरैलाई सबै प्रकारका सवारीसाधनले यसमार्गबाट यात्रा गर्न पाउने लागेको हुन सक्छ। तर यो सुरुङमार्ग सबै सवारीसाधनका लागि खुला हुने छैन।
सुरक्षालाई प्राथमिकतामा राख्दै पैदलयात्री, मोटरसाइकल र स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोल, ग्यासजस्ता ज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
यी सवारीसाधनले भने पुरानै वैकल्पिक सडक प्रयोग गर्नुपर्नेछ। सरकारका अनुसार सुरुङभित्र दुर्घटना तथा आगलागीको जोखिम न्यूनीकरण गर्दै यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो।
त्यसैले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्नुअघि आफ्नो सवारीसाधन सुरुङमार्ग प्रयोग गर्न योग्य छ वा छैन भन्ने कुरा एकपटक अवश्य जाँच गर्नुहोस्। सुरक्षित यात्रा गर्नुहोस्।


