आदर्श नारी विकास केन्द्रको नयाँ नेतृत्व, अध्यक्षमा सजना तिमील्सेना चयन

एटुजेड समाचार

चितवन – आदर्श नारी विकास केन्द्रको अध्यक्षमा सजना तिमिल्सेना चयन भएकी छन्। केन्द्रको ३५ औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशनले तिमिल्सेनाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सरिता सुवेदी पाठक, सचिवमा लक्ष्मी रिमाल पौडेल, सहसचिवमा कौशिला खरेल तथा कोषाध्यक्षमा लक्ष्मी गुरुङ चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा अनिता बस्तोला, निशा परियार, पार्वती खड्का र पार्वती ढकाल रहेका छन्।

कार्यक्रम आदर्श नारी विकास केन्द्रकी संस्थापक अध्यक्ष तथा नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष मीना कुमारी खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

सो अवसरमा बोल्दै खरेलले ३५ वर्षअघि स्थापना भएको संस्थाले निरन्तर रूपमा महिलाको हक, हित र सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताइन्। सीमित व्यक्तिको पहलमा स्थापना भएको संस्था आज चितवनका विभिन्न पालिकासम्म विस्तार हुन सफल भएको उल्लेख गर्दै उनले आगामी दिनमा चितवनबाहिर पनि सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याइन्।

उनले महिलाका समस्या र गुनासो गोप्य रूपमा सुन्न हेल्प डेस्क स्थापना गर्न, द्वन्द्वपीडित महिलाका अनुभव समेटेर स्मारिका प्रकाशन गर्न तथा विपन्न बालबालिकाका लागि निःशुल्क छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

कार्यक्रमकी सभापति तथा निवर्तमान अध्यक्ष उषा खरेलले आफ्नो कार्यकालमा कार्यसमिति र संस्थापक अध्यक्षको मार्गदर्शनका कारण संस्थाले महिला अधिकार, न्याय, छात्रवृत्ति, स्वास्थ्य परीक्षण तथा सामाजिक सेवासम्बन्धी विभिन्न कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सकेको बताइन्। आगामी दिनमा पनि संस्थाको अभियानमा निरन्तर सहयोग रहने उनको भनाइ थियो।

कार्यक्रममा आदर्श नारी विकास केन्द्र कालिका शाखाकी अध्यक्ष मेनुका थापा अधिकारी, संस्थाका पूर्वसचिव पृथ्वीदेवी सुवेदी, आदर्श बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शारदा भट्टराई खरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव सरिता सुवेदी पाठकले गरेकी थिइन् भने स्वागत मन्तव्य नवनिर्वाचित अध्यक्ष सजना तिमिल्सेनाले व्यक्त गरेकी थिइन्।

यसैबीच, अधिवेशनको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ। केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए। रक्तदातामध्ये ६ जना महिला र १८ जना पुरुष रहेका थिए भने दुई जना नयाँ रक्तदाताले पहिलो पटक रक्तदान गरेको आयोजकले जनाएको छ।

मानवीय सेवाको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमको प्राविधिक सहयोग सीएमसी ब्लड बैंकले गरेको थियो। कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, संस्थाका पदाधिकारी, सदस्य तथा आजीवन सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु