अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड

एटुजेड समाचार

काठमाडौँ – अष्ट्रेलियाको वैदेशिक मामिला तथा व्यापार विभागअन्तर्गत दक्षिण तथा मध्य एसिया महाशाखाका प्रथम सहायक सचिव सेरा स्टोरीको नेतृत्वमा आएको अष्ट्रेलिया सरकारको प्रतिनिधिमण्डलले नेपालको तीनदिने भ्रमण सम्पन्न गरेको छ।

भ्रमणका क्रममा नेपाल र अष्ट्रेलियाबिचको बलियो तथा दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ। छलफलमा व्यापार, लगानी, शिक्षा, जलवायु परिवर्तन र दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसरहरूको पहिचान गरिएको छ।

भ्रमणका क्रममा प्रथम सहायक सचिव स्टोरीले नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईसँग संयुक्त रूपमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकको सह–अध्यक्षता गरे। त्यसैगरी उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीसँग संयुक्त रूपमा व्यापार तथा लगानी रूपरेखा व्यवस्था समितिको पहिलो बैठकको पनि सह–अध्यक्षता गरे । उक्त बैठकलाई दुई देशबिच आर्थिक सहकार्य विस्तार गर्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको जनाइएको छ।

बैठकहरूमा द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाउने, आर्थिक साझेदारी विस्तार गर्ने तथा क्षेत्रीय र बहुपक्षीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। अष्ट्रेलियाले त्यहाँ बसोबास गर्ने नेपाली समुदायको योगदानको उच्च प्रशंसा गर्दै उनीहरूको सीप, उद्यमशीलता, लगानी र मेहनतले दुई देशबिचको जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाएको उल्लेख गरेको छ।

भ्रमणका क्रममा प्रथम सहायक सचिव स्टोरीले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि शिष्टाचार भेटवार्ता गरे। शिक्षा क्षेत्रलाई द्विपक्षीय सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै उनले अष्ट्रेलियाली विश्वविद्यालयबाट अध्ययन गरेका नेपाली पूर्वविद्यार्थीसँग आयोजित स्वागत समारोहमा अन्तरक्रिया गरे।

साथै, त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी, शिक्षाविद्, युवा नेता तथा वैदेशिक नीति क्षेत्रका विज्ञहरूसँग अष्ट्रेलिया–नेपाल सम्बन्धको भावी दिशाबारे छलफल गरे।

त्यस अवसरमा प्रथम सहायक सचिव स्टोरीले लोकतान्त्रिक मूल्य र नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्थाप्रतिको साझा प्रतिबद्धताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाएको बताए । उनले भने, “लोकतान्त्रिक मूल्य तथा नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्थाप्रतिको हाम्रो साझा प्रतिबद्धता हाम्रो सम्बन्धको महत्वपूर्ण आधारस्तम्भ हो। यसले साझाहित प्रवर्द्धन गर्न मिलेर काम गर्ने बलियो आधार प्रदान गर्छ ।”

भ्रमणका क्रममा उनले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) अन्तर्गत गोदावरीस्थित ‘लिभिङ माउन्टेन ल्याब’को पनि अवलोकन गरे। सो अवसरमा इसिमोडसँग अष्ट्रेलियाको साझेदारी तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि अष्ट्रेलियाको प्रतिबद्धताबारे छलफल भएको थियो। प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा क्षेत्रीय सहकार्य र ज्ञान आदानप्रदानलाई अष्ट्रेलियाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

अष्ट्रेलिया सरकारका अनुसार यस भ्रमणले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप गतिशील बनाउनुका साथै आगामी वर्षमा द्विपक्षीय सहकार्य विस्तार गर्ने नयाँ अवसर सिर्जना गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु