भरतपुर – सम्भवत नेपालमै पहिलो पटक भएको दुई महिना लामो कोटिहोम महायज्ञ गर्दा ९ लाख ६७ हजार रुपैयाँ अपुग (घाटा) भएको छ । महायज्ञलाई मर्यादित र विधिसंगत रूपमा सात्विक बनाउनका लागि कसैसँग पनि दान तथा सहयोगका लागि करकाप वा अनुरोध नगरी केवल स्वेच्छिक सहभागिताका लागि मात्र आह्वान गरिएको महायज्ञका संयोजक प्रेमनीधि भारद्वाजले बताए ।
महायज्ञ अवधिभर कुल १ करोड ३० लाख २ हजार ३६६ रुपैयाँ नगद आम्दानी भएको छ । यसका साथै जिन्सी सामग्रीहरू (चामल, पिठो, नुन, तेल, घिउ, तिल, चिनी, भाँडाकुडा र आवासमा प्रयोग भएको विस्तारा लगायत) समेत प्राप्त भएको र ती सामग्रीहरूको व्यवस्थापन प्रधान संरक्षक गुरुको आदेशअनुसार गरिने उनले बताए । हाल भण्डारण गरि राखिएका ती सामाग्रीको व्यवस्थापनका लागि महायज्ञका प्रधान संरक्षक योगी श्रीषनाथलाई भारद्वाजले चाबी हस्तान्तरण गरे ।
महायज्ञ अवधिभर विभिन्न ३३ वटा शीर्षकहरूमा कुल १ करोड ३९ लाख ३१ हजार ६२६ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । कुल खर्चमध्ये सबैभन्दा धेरै रकम दक्षिणा तर्फ ५४ लाख ८४ हजार ५१० रुपैयाँ खर्च भएको छ । यसका अतिरिक्त लेखापरीक्षण शुल्कबापत ३० हजार रुपैयाँ छुट्टै रहेको विवरणमा उल्लेख छ ।
योगी श्रीषनाथले भारद्वाजको नेतृत्वमा गोरक्ष सेनाको घोषणा पनि गरेका छन् । कोटिहोम महायज्ञको पूर्णाहुतीका दिन गोरक्ष पिठाधिस समेत रहेका योगी श्रीषनाथले धार्मिक अभियन्ता भारद्वाजको नेतृत्वमा गोरक्ष सेनाको आह्वान गरेका हुन् ।
महायज्ञका संयोजक भारद्वाजद्वारा जारी विज्ञप्तिमा महायज्ञलाई भव्य र सभ्य तरिकाले पूर्णता दिन प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने सहयोगी संस्थाहरू, आमा समूह, सत्संग समिति, मठमन्दिर, संघसंस्था तथा नेपालभरका लाखौँ सनातन संस्कृति र परम्पराका उपासकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
योगी नरहरिनाथ आश्रम वागीश्वरीमा गत वैशाखदेखि असारसम्म ‘श्रीशिवगोरक्ष योगिनरहरिनाथ साङ्ग्र कोटिहोम महायज्ञ’ आयोजना गरिएको थियो । राष्ट्रगुरु योगी नरहरिनाथको सङ्कल्पअनुसार आयोजना गरिएको उक्त महायज्ञ सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले बताएको छ ।
आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी महायज्ञको आयव्यय विवरण समेत सार्वजनिक गरेको हो । गोरक्षपीठाधीश योगी श्रीषनाथको प्रधान संरक्षकत्वमा श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगि नरहरिनाथ आश्रम एवं श्रीसनातन सांस्कृतिक सम्पदा संरक्षण सङ्घको संयुक्त आयोजनामा महायज्ञ सञ्चालन भएको थियो ।
विश्वशान्ति, राष्ट्रकल्याण एवं सनातन संस्कृतिको अक्षुण्णताका लागि गत वैशाख १७ गतेदेखि असार १४ गतेसम्म भएको महायज्ञमा अतिरुद्री, सहस्रचण्डी, पुराणवाचन तथा चारवेदपाठपरायण लगायतका धार्मिक–आध्यात्मिक अनुष्ठानहरू गरिएका थिए ।


