दुई दिन भारी वर्षाको सम्भावना : बाढी–पहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह

एटुजेड समाचार

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले आइतबार र सोमबार देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले शनिबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा असार २८ गते आइतबार र २९ गते सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अति भारी वर्षा हुने अनुमान गरिएको छ।

प्राधिकरणले यस्तो वर्षासँगै अकस्मात् बाढी, पहिरो, भू–कटान, गेग्रान बहाव तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

सूचनामा बाढी आउन सक्ने खोला, खहरे तथा नदी आसपास यात्रा नगर्न, पहिरोको जोखिम भएका क्षेत्र र नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न पनि भनिएको छ।

प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यमा संलग्न साझेदार संस्थालाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर काम गर्न आग्रह गरेको छ।

आपत्कालीन अवस्थामा बाढी तथा वर्षासम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता नम्बर १२३४, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

साथै, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा पछ्याउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु