काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।
मोरक्कोविरुद्धको क्वाटरफाइनल खेलमा गोल गरेसँगै उनले विश्वकप इतिहासमा आफ्नो गोलसंख्या २० पुर्याएका हुन् । उनले केवल २० खेल खेल्दै यो अभूतपूर्व उपलब्धि हासिल गरेका हुन् ।
अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा ८ गोल गरिसकेका एम्बाप्पे जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।
अर्जेन्टिनी कप्तान लियोनेल मेसीको पनि जारी विश्वकपमा समान ८ गोल नै रहेको छ । यद्यपि, असिस्ट (पास) का आधारमा भने एम्बाप्पे मेसीभन्दा अघि छन् । एम्बाप्पेले ६ खेल खेल्दै ८ गोल र ३ असिस्ट गरेका छन् भने मेसीले ५ खेलमा ८ गोल र १ असिस्ट गरेका छन् ।
विश्वकप इतिहासमै सबैभन्दा कम खेलमा २० गोल गर्ने कीर्तिमान बनाएका एम्बाप्पे फ्रान्सलाई लगातार तेस्रो पटक विश्वकपको फाइनल नजिक पुर्याउन निर्णायक बनेका छन्।
किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा गएराति मोरोक्कोलाई २-० ले पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।


