भरतपुर – चितवनको भरतपुरस्थित वैष्णव रेष्टुरेन्टमा खाना खानेक्रममा सागमा शंखेकिरा भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले रेष्टुरेन्ट बन्द गराएको छ । रेष्टुरेन्टमा खाना खान पुगेका सेवाग्राहीको सागमा शंखेकिरा फेला परेपछी प्रशासनलाई खबर गरेका थिए ।
त्यस लगत्तै प्रशासनको टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा रेष्टुरेन्टमा प्रयोग भइरहेको तेलको गुणस्तर पनि कमजोर देखिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार रेष्टुरेन्टलाई तत्कालका लागि बन्द गरिएको छ। आवश्यक सुधारका लागि प्रतिबद्धता जनाउने, तोकिएको जरिवाना बुझाउने तथा मापदण्ड पूरा गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिइनेछ ।
प्रशासनले खाद्य स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्ने भन्दै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र उपभोक्ता सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ।


