कालिकोट – कालिकोटको स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य सेवा कार्यालयले आमाको दूध पिलाउनुको सट्टा बजारमा पाइने कृत्रिम दूध तथा अन्य आहार बिक्री-वितरणमा कडा रोक लगाएको छ ।
प्रशासनले खाँडाचक्र नगरपालिकाको मान्म, मोल्फा, पिली र तिलागुफा नगरपालिकाको गाल्जे तथा नाग्म बजार लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा आमाको दूध प्रतिस्थापन गर्ने अन्य दूध तथा आहार बिक्री गर्ने औषधि, किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानलाई त्यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख डा. रत्नवीर सुनारका अनुसार अनुगमनका क्रममा औषधि पसल तथा अन्य विभिन्न पसलमा आमाको दूधलाई प्रतिस्थापन गर्ने ल्याक्टोजिन, निप्पल जस्ता वस्तु प्रदर्शनमा राखेको पाइएको छ । उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता वस्तुको विज्ञापन गर्ने र बजारीकरण गर्ने कार्यलाई रोक्न कडा निर्देशन दिइएको बताए ।
आमाको दूध प्रतिस्थापन गर्ने (वस्तु बिक्री–वितरण नियन्त्रण) ऐन, २०४९ तथा नियमावली, २०५१ को पालना गराउन र आमा तथा शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्नका लागि त्यस्ता वस्तुको बिक्री रोक्न लागिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए । उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सो वस्तुको विज्ञापन र प्रदर्शन नगर्न व्यवसायीलाई सचेत गराइएको उल्लेख गर्दै भने, ‘दिइएको निर्देशनलाई अटेरी गरेमा कानुनअनुसार कारबाही हुनेछ ।’
आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषक तत्व पाइने र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले बजारिया दूध यसको विकल्प हुन नसक्ने खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले बताए । बजारमा प्रतिबन्धित वस्तु फेला परेकाले तत्काल बिक्री रोक्न व्यवसायीलाई सुझाव दिइएको जानकारी दिँदै उनले भने, ‘स्थानीय सरकारले ऐन विपरीतका वस्तुको बिक्री गरेको पाइएमा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।’


