अदालतबाट छुटेलगत्तै अभिषेक गिरी फेरि पक्राउ

एटुजेड समाचार

मोरङ – मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिकमा अनियमितता गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरी अदालतबाट रिहा हुनेबित्तिकै फेरि पक्राउ परेका छन्।

जिल्ला अदालत मोरङले गिरीलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा परेको उजुरीका आधारमा उनलाई पुनः पक्राउ गरिएको हो। पक्राउपछि थप अनुसन्धानका लागि गिरीलाई काठमाडौं पठाइएको मोरङ प्रहरीका प्रमुख एसपी कोवित कटुवालले जानकारी दिएका छन्।

यसअघि असार १३ गते बिहान विराटनगर–८ मधुमारास्थित आफ्नै निवासबाट गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कारागारभित्रका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिकमा आर्थिक शोषण गरेको उजुरीपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो।

प्रहरीले गिरीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धानका लागि म्याद थपको माग गर्दै जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो। तर अदालतले गिरीलाई थुनामुक्त गर्दै बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

यद्यपि, गिरीका सहयोगी सञ्जय मण्डल, विनोदकुमार सिंह र विजय कामतमाथि भने आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान जारी छ। जिल्ला अदालतले उनीहरूलाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यसअघि उच्च अदालत विराटनगरले गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै अनुसन्धानका लागि निश्चित समयसीमा तोकेको थियो। त्यसैलाई आधार मान्दै जिल्ला अदालतका न्यायाधीश टंकबहादुर महतको इजलासले गिरीलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

अदालतबाट रिहा भएलगत्तै अर्को उजुरीका आधारमा पुनः पक्राउ परेका गिरीमाथि अब केन्द्रीय अनुसन्धान ब्यूरोले थप अनुसन्धान अघि बढाउने भएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु