फोर्ब्स कलेज चितवनमा ‘कोडफेस्ट नेपाल २०२६’ को प्रादेशिक चरण आयोजना हुने

एटुजेड समाचार

भरतपुर –  शिक्षा र सूचना प्रविधि (आईटी) उद्योगबीचको दूरी घटाउने उद्देश्यसहित क्रियाशील राष्ट्रिय गैर-नाफामुखी प्राविधिक समुदाय कोड फर चेन्ज (Code for Change) ले ‘कोडफेस्ट नेपाल २०२६’ को प्रादेशिक चरण (चितवन) का लागि फोर्ब्स कलेज, क्षेत्रपुर–२, भरतपुर लाई आधिकारिक भेन्यु पार्टनर घोषणा गरेको छ।

‘कोडफेस्ट नेपाल २०२६’ को पाँचौं संस्करणलाई नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–केन्द्रित ह्याकाथनका रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रममा स्नातक तहका प्राविधिक विद्यार्थी तथा प्रविधिमा रुचि भएका कक्षा ११ र १२ (+२) का विद्यार्थीहरूले आफ्ना नवीन अवधारणालाई व्यावहारिक तथा वास्तविक समस्याको प्राविधिक समाधानमा रूपान्तरण गर्ने अवसर पाउनेछन्।

यस वर्षको प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण प्रदेशस्तरमा विकेन्द्रीकृत रूपमा आयोजना गरिनेछ भने उत्कृष्ट टोलीहरूले काठमाडौंमा हुने राष्ट्रिय ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन्।

चितवनको प्रादेशिक चरण फोर्ब्स कलेजमा २०८३ साउन २९, ३० र ३१ गते आयोजना हुने तय भएको छ। कार्यक्रममा प्रदेशभरका डेभलपर, UI/UX डिजाइनर तथा प्रविधिमार्फत समस्या समाधानमा रुचि राख्ने युवा सहभागी हुने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार, प्रत्येक प्रदेशका कार्यकारी टोलीले स्थानीय आवश्यकता र क्षेत्रीय चुनौतीलाई ध्यानमा राखेर प्रतियोगिताका विषयवस्तु (थिम) तय गर्नेछन्। प्रादेशिक चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूले राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रदेशको प्रतिनिधित्व गर्नेछन्।

प्रतियोगितामा दुई छुट्टाछुट्टै ट्र्याक रहनेछन्। +२ तहका सहभागीहरूले आफ्ना नवीन अवधारणाको प्रस्तुतीकरण (पिचिङ) र परिष्करणमा केन्द्रित हुनेछन् भने स्नातक तहका टोलीहरूले आयोजकले उपलब्ध गराएका समस्या विवरणका आधारमा कार्यशील प्रोटोटाइप तथा ‘मिनिमम भायबल प्रोडक्ट (MVP)’ निर्माण गर्नुपर्नेछ।

राष्ट्रिय स्तरमा प्रतियोगिताका विजेताहरूका लागि कुल ३ लाख रुपैयाँ बराबरको पुरस्कार राशि राखिएको छ। साथै उत्कृष्ट टोलीहरूले इन्क्युबेशन अवसर, उद्योग विशेषज्ञबाट मेन्टरशिप, विभिन्न ग्याजेट, इन्टरनेट प्याकेज, क्लाउड होस्टिङ सुविधा तथा कर्पोरेट गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्।

प्रतियोगितामा २ देखि ४ सदस्यीय टोली बनाएर आफ्नो शैक्षिक संस्थाको प्रतिनिधित्व गर्न वा स्वतन्त्र टोलीका रूपमा सहभागी हुन सकिने आयोजकले जनाएको छ। स्नातक तहका टोलीका लागि दर्ता शुल्क रु. २,५०० र +२ तहका टोलीका लागि रु. १,५०० तोकिएको छ। दर्ताको अन्तिम मिति २०८३ असार २५ गते रहेको छ।

थप जानकारीका लागि इच्छुक विद्यार्थी तथा संस्थाहरूले codefestofficial@gmail.com, execution@codefestnepal.com मा इमेल गर्न वा codefestnepal.com मार्फत जानकारी लिन सक्ने आयोजकले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु