चितवन – चितवनको भरतपुर महानगरपालिका वडा नं २९ भतेरीस्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाले ‘चन्द्रसूर्य’ ब्रान्डको बेसार सार्वजनिक गरेको छ।
चितवनको भतेरीमा आयोजित विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चन्द्रसूर्य ब्रान्डको बेसार सार्वजनिक गर्नुभएको हो। सो अवसरमा भतेरीमा संचालनमा आएको बेसार प्रसोधन केन्द्रको समेत मुख्यमन्त्रीले उद्घाटन गर्नुभएको थियो।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महिलाको नेतृत्वमा सञ्चालित सहकारीहरूले उद्यमशीलता र मूल्य अभिवृद्धिमार्फत स्थानीय अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्याइरहेकोले बागमती प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममै महिलाद्वारा संचालित यस खालका उधोगलाई अनुदान दिने व्यवस्था गरिएको बताउनुभयो।
उहॅाले बेसार,अदुवा,प्याज र लसुन खेतीको प्रवर्दनमा प्रदेश सरकार लागेकोले सफल महिला उधमी सहकारी पनि प्रदेशको कार्यक्रमबाट लाभान्वित हुने स्पष्ट पार्नुभयो।
सरकारले गर्नुपर्ने काम महिला सहकारीले गरेको भन्दै मुख्यमन्त्रीले बधाई समेत दिनुभयो। प्राङ्गारिक बेसार उत्पादन गरेर चन्द्रसूर्य ब्रान्ड समेत शुरु गरेकोमा थप बजारिकरण र निर्यातमा समेत प्रदेश सरकारले सघाउने मुख्यमन्त्री बानियाले आश्वस्त पार्नुभयो।
हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तिर्थराज रेग्मीले चन्द्रसूर्य ब्रान्डको बेसार सामान्य उत्पादन मात्रै नभई ग्रामीण महिला उधमशीलताको प्रेरणादायी कदम भएको बताउनुभयो। महिला किसान तथा सहकारी सदस्यहरूको नेतृत्व बिस्तार,उद्यमशीलता र सामूहिक प्रयासलाई हेफरले सधै सम्मान गर्ने उहाको भनाई थियो।
हेफरका कार्यक्रम मार्फत देशका विभिन्न जिल्लामा गरी ३ सय भन्दा बढी सहकारी र करिव ५ लाख परिवार कृषि र पशुपालनमा प्रत्यक्ष जोडिएकोले यो अभियानमा सरकार अझ शसक्त ढंगले साझेदार बन्नुपर्ने उहाको भनाई थियो ।
चन्द्रसूर्य बेसारले बजारसँगको प्रभावकारी पहुँचमार्फत ग्रामीण समुदायका लागि दीर्घकालीन आर्थिक अवसर सिर्जना गर्ने सम्भावना अझ बलियो भएको हेफरका राष्ट्रीय निर्देशक डा रेग्मीले बताउनुभयो ।
सफल सहकारीका अध्यक्ष मधुमाया गुरुङले शुरुवातमा ओखलमा बेसार पिसेर टाउकोमा पोका बोकेर बजार बजार डुलेको स्मरण गर्दै उधोगसम्म आॅउदा केही संघर्ष भएतापनि आज ब्रान्ड शुरु गर्दा हर्षको अॅाशु आएको बताउनुभयो ।
उधोग संचालनको लागि हेफरले एक करोड भन्दा बढीको सहयोग गरेको अध्यक्ष गुरुङले जानकारी गराउनुभयो। उहाले ‘चन्द्रसूर्य’ ब्रान्डमार्फत नेपालको स्थानीय कृषि मूल्य शृङ्खलालाई सुदृढ बनाउँदै गुणस्तरीय कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सस्थाकी सचिव निर्जला गुरुङ र उपाध्यक्ष राधिका भट्टराइले आमा समूहबाट शुरु भएको गॅाउले महिलाहरुको समूह बेसार प्रसोधन उधोगको संचालकसम्म आइपुग्दा गौरवको अनुभूति भएको बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था ,सहकारी तथा गरिवी निवारणमन्त्री विनु रायमाझी, स्थानीय सरकारका प्रमुखहरु,सरकारी अधिकारी, सहकारी तथा कृषि क्षेत्रका प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी, विकास साझेदार संस्था, किसान एवम् सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
हेफर इन्टरनेशनल नेपालले सन् १९९७ देखि साना किसानसँग सहकार्य गर्दै समावेशी, उद्यमशील र दिगो खाद्य प्रणाली निर्माणका लागि काम गर्दै आएको छ।
समुदाय, सरकार, सहकारी तथा निजी क्षेत्रसँगको साझेदारीमार्फत हेफरले किसानहरूको उत्पादन क्षमता अभिवृद्धि, बजार तथा वित्तीय पहुँच विस्तार, जलवायु–मैत्री कृषि अभ्यासको प्रवर्द्धन तथा जीविकोपार्जनमा सुधार ल्याउन योगदान पुर्याउँदै आएको छ।
हेफरले नेपालका करिव ५ लाखभन्दा बढी परिवारसँग सहकार्य गर्दै दिगो आम्दानी, खाद्य सुरक्षा र समृद्धिको आधार निर्माणमा सहयोग पुर्याएको छ। विशेषगरी महिला, युवा तथा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखी संस्थाले आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ।


